प्रहरी र नागरिकबीचको दूरी घटाउन गृहमन्त्रीको निर्देशन, फिल्डमा खटिने प्रहरीको मनोबल बढाउन जोड


काठमाडौं। गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी प्रभावकारी काम गर्न नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई निर्देशन दिएका छन्।

बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा नवनियुक्त आईजीपी केसीलाई दज्र्यानी चिह्न प्रदान गर्दै गृहमन्त्री गुरुङले प्रहरी र आम नागरिकबीच अझै दूरी कायम रहेको उल्लेख गर्दै त्यसलाई कम गर्न नयाँ नेतृत्वले प्राथमिकताका साथ काम गर्नुपर्ने बताएका हुन्।

उनले प्रहरी संगठनलाई बलियो बनाउने र फिल्डमा खटिने प्रहरी कर्मचारीको मनोबल उच्च राख्ने गरी नेतृत्व गर्न पनि आईजीपी केसीलाई निर्देशन दिए।

प्रहरीले गर्ने सकारात्मक काममा गृह मन्त्रालयको सधैँ साथ र सहयोग रहने उल्लेख गर्दै उनले नयाँ नेतृत्वको प्रहरी संगठनले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रहरी संगठनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन र प्रहरीका समस्या समाधान गर्न सरकार तयार रहेको उनको भनाइ थियो।

‘जहिले पनि प्रहरी र आम नागरिकको बीचमा एउटा ग्याप मैले फिल गरिरहेको छु। यसमा नवनियुक्त आईजीपी साबको नेतृत्वमा प्रभावकारी रूपमा काम होस्। यसमा पर्याप्त काम भएको छैन,’ उनले भने।

प्रहरी र नागरिकबीचको दूरी केही कम भएको महसुस भएको उल्लेख गर्दै उनले त्यसका लागि संगठनका सबै कर्मचारीलाई धन्यवादसमेत दिए।

गुरुङले प्रहरी संगठनको अभिभावकत्व लिन, आवश्यक स्रोतसाधन उपलब्ध गराउन र संगठनका समस्या समाधान गर्न गृह मन्त्रालय प्रतिबद्ध रहेको बताए। नयाँ नेतृत्वले संगठन सुदृढीकरणसँगै कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीको मनोबल बढाउन ध्यान दिनुपर्ने उनको निर्देशन थियो।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. केसीलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो।

यसअघि प्रहरी महानिरीक्षक रहेका दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ।

– न्युज एजेन्सी नेपाल