निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त


काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा भण्डारीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्तिपत्र प्रदान गरेका छन्। सो अवसरमा मन्त्री वाग्लेले सफल कार्यकालको शुभकामना दिँदै कोषको संस्थागत गरिमा कायम राख्न र नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीप्रति प्रतिबद्ध भएर काम गर्न निर्देशन दिएका छन्।

नेपाल राष्ट्र बैंकमा लामो समय काम गरेको अनुभव भएका भण्डारीले सन् २०१८ देखि २०२५ सम्म कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हालेका थिए। उनले राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन, वित्तीय संस्था सुपरिवेक्षण, मानव संसाधन व्यवस्थापन, आर्थिक अनुसन्धान तथा गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभागमा रहेर काम गरेका छन्।

सन् २०२५ डिसेम्बरदेखि २०२६ मेसम्म नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य रहेका भण्डारीले यसअघि सन् २०१९ देखि २०२० सम्म निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समिति सदस्यका रूपमा समेत काम गरेका थिए।

उनले बेलायतको युनिभर्सिटी अफ ब्राडफोर्डबाट अन्तर्राष्ट्रिय अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका भण्डारीले सो क्रममा सर्वोत्कृष्ट स्थान हासिल गरेका थिए।