२ अर्ब रुपैयाँ बराबरको हकप्रद ल्याउँदै आँखुखोला जलविद्युत,चुक्ता पुँजी दोब्बर बनाउने लक्ष्य


काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हालको चुक्ता पुँजी बराबरकै हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम रहेको २ अर्ब रुपैयाँ चुक्ता पुँजीको आधारमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

कम्पनीले यसअघि लगानी सम्झौता भएका, लगानीका लागि सैद्धान्तिक सहमति प्राप्त भएका तथा अन्य उपयुक्त आयोजनाहरूमा लगानी विस्तार गर्ने उद्देश्यले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको जनाएको छ ।

कम्पनीले कात्तिक १८ गते बस्ने सञ्चालक समितिको बैठकले २ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगसँग पूर्वस्वीकृति माग्ने निर्णय गरेको हो । आयोगबाट अनुमति प्राप्त भएपछि प्रस्तावलाई कम्पनीको आगामी साधारणसभामा स्वीकृतिका लागि पेश गरिने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । प्रस्तावित १ः१ हकप्रद सेयर निष्कासन सफल भएमा कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ पुग्नेछ ।

जलविद्युत क्षेत्रमा लगानी विस्तार तथा नयाँ आयोजनामा सहभागिता बढाउने रणनीतिसहित कम्पनीले पूँजी वृद्धि गर्न लागेको हो । हकप्रद सेयरको अन्तिम स्वीकृति भने नियामकीय निकाय र साधारणसभाको निर्णयपछि मात्र प्राप्त हुनेछ ।