काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन करिव १ हजार ९ सयदेखि २ हजार मेगावाटसम्म विद्युत माग हुने अनुमान गरेको छ ।
माग सहजै व्यवस्थापन गर्न सकिने प्राधिकरणको दाबी छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पछिल्लो समय भएको वर्षाका कारण नदीहरूमा पानीको बहाव राम्रो रहेको र विद्युत उत्पादन तथा आपूर्तिका लागि पर्याप्त क्षमता उपलब्ध रहेकाले लक्ष्मीपूजाका दिन विद्युत आपूर्तिमा समस्या नहुने बताए ।
उनकाअनुसार अहिले प्राधिकरणसँग करिब २ हजार ७ सयदेखि २ हजार ८ सय मेगावाटभन्दा बढी विद्युत उपलब्ध गराउन सक्ने क्षमता छ ।
त्यसैले लक्ष्मीपूजाका दिन अनुमान गरिएको विद्युत माग सहजै व्यवस्थापन गर्न सकिनेछ । लक्ष्मीपूजाका दिन घरघरमा बत्ती बाल्ने परम्परा रहेकाले अन्य दिनको तुलनामा विद्युत खपत बढ्ने गर्छ । उक्त दिन केही उद्योग तथा कलकारखाना बन्द रहने भएकाले औद्योगिक विद्युत खपत घट्ने र घरायसी प्रयोजनमा विद्युत माग बढ्ने दुवै अवस्थालाई सन्तुलन गर्दा माग २ हजारदेखि २ हजार १ सय मेगावाटभन्दा माथि नपुग्ने प्राधिकरणको अनुमान छ ।
श्रेष्ठकाअनुसार अहिले नेपालको राष्ट्रिय विद्युत् प्रणालीको पिक लोड सामान्यतया २ हजार १ सयदेखि २ हजार २ सय मेगावाटको हाराहारीमा छ । निर्यातसमेत जोड्दा प्रणालीको पिक लोड अझ बढी हुने गरेको छ । राष्ट्रिय पिक लोड भने करिव २ हजार २ सयदेखि २ हजार ३ सय मेगावाटको हाराहारीमा रहेको उनको भनाइ छ ।
गत वर्ष लक्ष्मीपूजाका दिन विद्युतको पिक लोड करिब १ हजार ६ सयदेखि १ हजार ७ सय मेगावाट मात्रै पुगेको थियो । यस वर्ष विद्युत खपत केही बढे पनि करिव १ हजार ९ सयदेखि २ हजार मेगावाटसम्म पुग्ने प्रक्षेपण गरिएको छ । त्यसैले आपूर्तिको पक्षबाट कुनै समस्या नरहेको श्रेष्ठको भनाइ छ ।
यद्यपि, लक्ष्मीपूजाका दिन घरायसी विद्युत् खपत अत्याधिक बढ्दा वितरण प्रणालीमा भने केही प्राविधिक समस्या आउन सक्ने प्राधिकरणले जनाएको छ । विशेषगरी उपभोक्ताको घरमा जडान गरिएका मिटरको क्षमता, एमसीबी तथा अन्य विद्युतीय उपकरणमा अत्यधिक भार पर्दा एमसीबी ट्रिप हुने र मिटर जल्ने समस्या देखिन सक्ने सम्भावना रहन्छ ।
त्यसैगरी, विद्युत वितरणका क्रममा प्रयोग हुने ट्रान्सफर्मर र ११ केभीका फिडरमा समेत अतिरिक्त भार पर्नसक्ने भएकाले प्राधिकरणले वितरण प्रणालीलाई व्यवस्थित बनाउन विशेष तयारी गरेको छ ।
कार्यकारी निर्देशक श्रेष्ठकाअनुसार पछिल्लो पछिल्ला दिनमा प्राधिकरणका सबै वितरण केन्द्रका कर्मचारी तथा प्राविधिक टोली विद्युत भारको विश्लेषण र व्यवस्थापनमा खटिएका छन् । बढी भार भएका ट्रान्सफर्मरको लोड घटाउने, आवश्यकताअनुसार अन्य स्थानमा भार स्थानान्तरण गर्ने तथा फिडरहरूको व्यवस्थापन र प्राविधिक सेटिङ मिलाउने काम भइरहेको छ । १५ देखि २० प्रतिशतसम्म विद्युत् भार थपिए पनि व्यवस्थापन गर्न सकिने गरी वितरण प्रणालीमा आवश्यक तयारी गरिएको उनले बताए ।
कुनै स्थानमा बढी भारका कारण विद्युत अवरुद्ध हुने वा ट्रिपिङको समस्या आए तत्काल समाधान गर्न विभिन्न स्थानमा प्राधिकरणका प्राविधिक तथा कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ ।
विद्युत सेवा अवरुद्ध भएको अवस्थामा १५ देखि २० मिनेटदेखि बढीमा आधा घण्टाभित्र पुनः सञ्चालन गर्न सकिने गरी जनशक्ति परिचालनको व्यवस्था मिलाइएको श्रेष्ठले जानकारी दिए ।
कार्यकारी निर्देशक श्रेष्ठले भने,“मुख्यतः लक्ष्मीपूजाको दिन विद्युत खपत केही बढी हुने गर्छ । त्यस दिन सबैले घरमा भएका सम्पूर्ण बत्ती बाल्ने र लक्ष्मीलाई भित्र्याउने हाम्रो परम्परा रहिआएको छ । त्यसैले स्वाभाविक रूपमा विद्युत माग केही बढ्ने गर्छ । विगतका वर्षहरूमा लक्ष्मीपूजाका दिन भएको विद्युत् खपत र अहिलेको मागको प्रक्षेपणलाई हेर्दा यस वर्ष करिब १ हजार ९ सयदेखि २ हजार मेगावाटसम्म विद्युत माग हुने हाम्रो अनुमान छ ।”
श्रेष्ठले विद्युत उत्पादन तथा आपूर्तिका हिसावले पर्याप्त क्षमता उपलब्ध रहेकाले उपभोक्तालाई ढुक्क भएर लक्ष्मीपूजा मनाउन आग्रह गर्दै वितरण प्रणालीमा आउन सक्ने सम्भावित प्राविधिक समस्यासमेत तत्काल समाधान गर्ने गरी प्राधिकरण तयारी अवस्थामा रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्