देशमा पश्चिमी वायुको आंशिक प्रभाव,केही ठाउँमा हल्का वर्षाको सम्भावना


काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ । मधेस प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्ने तथा बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।

आज राति हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ । तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने महाशाखाको अनुमान छ ।