काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी प्रस्तावित कानुनमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्द हटाउन प्रतिनिधिसभाका सांसदहरूले माग गरेका छन्। उक्त शब्दले विशेषगरी महिलालाई अपमानित गर्ने र लैंगिक विभेदलाई बढावा दिने भन्दै उनीहरूले सम्मानजनक शब्दावली प्रयोग गर्नुपर्ने बताएका हुन्।
बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक–२०८३ माथिको दफावार छलफलका क्रममा सांसदहरूले यस्तो धारणा राखेका हुन्।
बैठकमा नेपाली कांग्रेसकी सांसद मनमाया विश्वकर्माले ‘वेश्यावृत्ति’ शब्दको सट्टा ‘देह व्यापार’ शब्द राख्न संशोधन प्रस्ताव गरेको बताइन्। उक्त शब्दले महिलालाई लक्षित गरी अपमान गर्ने र शोषणलाई संस्थागत गर्ने अवस्था सिर्जना गरेको उनको तर्क छ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले दलित समुदायका वादी महिलामाथि हुने शोषणलाई वेश्यावृत्तिका रूपमा नभई यौन शोषणका रूपमा परिभाषित गर्नुपर्ने बताए। जबर्जस्ती यौन कार्यमा लगाउने, यौन कार्य गर्न बाध्य बनाउने तथा श्रम शोषण गर्ने कार्यलाई कानुनमा स्पष्ट रूपमा समेट्नुपर्ने उनको माग छ।
नेकपा एमालेकी सांसद एशुदाकुमारी बरालले पनि ‘वेश्यावृत्ति’ शब्द महिलालाई गालीगलौज र अपमान गर्न प्रयोग हुने गरेको भन्दै शब्दावली सुधार गर्नुपर्ने बताइन्। सरकारले यौन व्यवसायलाई पेसाका रूपमा मान्यता दिन खोजेको हो वा नियन्त्रण गर्न खोजेको हो भन्ने विषयमा स्पष्ट हुनुपर्ने उनको भनाइ छ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले पनि उक्त शब्द विधेयकमा राख्न नहुने धारणा राखिन्। आर्थिक रूपमा विपन्न तथा भौगोलिक रूपमा पछाडि परेका महिलालाई प्रलोभन र दबाबमा पारेर यौन व्यवसायमा लगाइने गरेको उल्लेख गर्दै उनले बेचबिखनमा परेका महिलालाई उद्धारपछि समेत सामाजिक अपमान सहनुपर्ने अवस्था रहेको बताइन्।
बैठकमा सहभागी अधिकांश सांसदहरूले मानव बेचबिखनका विभिन्न स्वरूपलाई सम्बोधन गर्न यौन शोषण र श्रम शोषणको स्पष्ट परिभाषा कानुनमै समावेश गर्नुपर्नेमा जोड दिएका छन्।
सांसदहरूले शब्दावली परिवर्तनमा मात्रै सीमित नभई जबर्जस्ती श्रम, यौन शोषण, धम्की तथा दबाबमार्फत व्यक्तिको स्वतन्त्रता हनन गर्ने कार्यलाई समेत कानुनी दायरामा ल्याउनुपर्ने धारणा राखेका छन्।


प्रतिक्रिया दिनुहोस्