काठमाडौँ । नागढुंगा–मुग्लिन सडकखण्डमा पछिल्लो समय चितवनको घोप्टेभीर क्षेत्रमा लगातार सुक्खा पहिरो खस्ने क्रम बढ्दै गएपछि दैनिक ५ घन्टा बन्द गरेर मर्मत गरिने भएको छ ।
सडक डिभिजन र सम्बन्धित निकायले पहिरो पन्छाउने तथा जोखिमयुक्त ढुंगा–माटो हटाउने तयारी गरेका हुन् । लगातार पहिरो खस्दा सवारी आवागमन पटक–पटक अवरुद्ध हुनुका साथै मानवीय क्षतिसमेत भएपछि सुरक्षा सतर्कता अपनाउँदै जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि अर्को सूचना जारी नभएसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरेको हो ।
प्रशासनले जारी गरेको सूचनाअनुसार आजदेखि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म घोप्टेभीर क्षेत्रमा सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिनेछ ।
उक्त अवधिमा पहिरो पन्छाउने, जोखिमयुक्त चट्टान र माटो हटाउने तथा सडक सुरक्षित बनाउने कार्य गरिने प्रशासनले जनाएको छ ।
प्रशासनले यात्रु तथा सवारी चालकलाई सडक बन्द हुने समयलाई ध्यानमा राखी यात्रा योजना बनाउन, वैकल्पिक समय रोज्न तथा आवश्यक जानकारीका लागि सम्बन्धित निकायसँग समन्वय गर्न अनुरोध गरेको छ ।
जोखिम न्यूनीकरणको काम सम्पन्न भएपछि सडक नियमित रूपमा सञ्चालन गरिने छ।


प्रतिक्रिया दिनुहोस्