सुशासन र भ्रष्टाचार अन्त्य सरकारको प्रमुख आवश्यकता हाेः सभामुख अर्याल


काठमाडाैँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै सुशासन स्थापित गर्नु सरकारको प्रमुख आवश्यकता भएको बताएका छन् । 

आइतबार काठमाडौँमा भएकाे एक कार्यक्रममा उनले जनताको अपेक्षा र विश्वासअनुसार सरकारले इमानदारी, प्रतिवद्धता र जवाफदेहिताका साथ काम गर्नुपर्ने बताएका हुन् ।

सभामुख अर्यालले २०८२ भदौ २३ र २४ गतेको विद्रोहले नेपाली राजनीतिमा महत्वपूर्ण परिवर्तनको आधार तयार गरेको उल्लेख गर्दै युवा नेतृत्वको अगुवाइमा राष्ट्रिय स्वतन्त्र पार्टी ठूलो जनमतसहित शासन सञ्चालनको जिम्मेवारीमा पुगेको बताए ।

नयाँ राजनीतिक शक्तिका लागि यो ऐतिहासिक अवसरसँगै ठूलो जिम्मेवारी पनि भएको उनको भनाइ छ । उनले राज्यसँग साधन र स्रोत सीमित भएपनि उपलब्ध स्रोतको पारदर्शी र प्रभावकारी परिचालन गर्नसके विकास तथा समृद्धिको यात्रालाई गति दिन सकिने बताए ।

सभामुख अर्यालले साहित्यकारहरूले समाजका विकृति र विसङ्गतिमाथि प्रश्न उठाउनुका साथै सकारात्मक प्रयास र असल अभ्यासलाई पनि प्रोत्साहन गर्नुपर्ने उल्लेख गरे ।

व्यवस्थापिकाको नेतृत्वकर्ताका रूपमा जनताको आवश्यकता र भावनालाई सम्बोधन गर्ने कानून निर्माण प्रक्रियालाई प्रभावकारी बनाउनु आफ्नो प्रमुख दायित्व रहेको उनले बताए ।

नीति निर्माता तथा जनप्रतिनिधिहरूले समाजका वास्तविक समस्या र नागरिकका पीडा बुझ्न साहित्यको अध्ययन गर्नुपर्नेमा पनि उनले जोड दिए । 

उनले प्रतियोगिताका उत्कृष्ट २५ कथाकारसहित प्रथम, द्वितीय र तृतीय हुने स्रष्टाहरूलाई बधाई दिँदै नेपाली कथा साहित्यको विकासमा निरन्तर योगदान पु¥याउन शुभकामना व्यक्त गरे ।