चीनका कम्पनीमा एआइबाट काम लिनेक्रम बढ्दो,दक्षता बढे पनि रोजगारीबारे चिन्ता


बेइजिङ । चीनका उद्योग तथा व्यवसायिक कम्पनीहरूमा अहिले एआई (कृत्रिम बुद्धिमत्ता) आधारित डिजिटल कामदारको प्रयोग तीव्र रूपमा बढिरहेको चिनियाँ समाचार संस्था सिन्व्हाले जनाएको छ ।

उत्पादन व्यवस्थापन, ग्राहक सेवा, बजार विश्लेषणदेखि व्यवसाय सञ्चालनका विभिन्न काममा एआईले भूमिका बढाउँदै लगेपछि कम्पनीहरूको दक्षता बढेको छ । तर यसले रोजगारीमा पार्न सक्ने असरबारे भने बहस पनि सुरु भएको ।

दूरसञ्चार उपकरण निर्माता जेडटिइले नानजिङस्थित आफ्नो कारखानामा ८० भन्दा बढी एआई कामदार प्रयोग गरिरहेको छ । यी डिजिटल सहायकहरूले कुन सामग्री कहिले र कहाँ पुर्‍याउने भन्ने निर्णय स्वतः गर्छन् । कम्पनीका अनुसार एआईको प्रयोगपछि सामग्री व्यवस्थापनमा लाग्ने समय र दूरी उल्लेखनीय रूपमा घटेको छ ।

त्यस्तै, हाङझाउका २९ वर्षीय उद्यमी झाङ छेन्चाओले करिब ८० एआई सहायकको मद्दतमा बेसबल क्याप बिक्री गर्ने अन्तर्राष्ट्रिय अनलाइन व्यवसाय सुरु गरेका छन् र उत्पादन छनोट, डिजाइन, ग्राहक खोज्ने र सामान पठाउनेसम्मका काममा एआई प्रयोग गरेर उनले दुई महिनामै व्यवसाय सञ्चालनमा ल्याएका हुन् ।

डेरी कम्पनी मेङनिउमा पनि एआईले गाईभैँसीका रोग पहिचान गर्न सहयोग गरिरहेको छ । यसअघि एउटा फार्मको रोगको प्रारम्भिक मूल्याङ्कन गर्न डेढ दिन लाग्ने गरेकामा अहिले करिब दुई घण्टामै नतिजा दिन सकिने कम्पनीले जनाएको छ ।

अनुसन्धान संस्था शाछिउ थिङ्क ट्याङ्कका अनुसार सन् २०२४ को अन्त्यमा १७.३ प्रतिशत रहेको एआई प्रयोग गर्ने चिनियाँ कम्पनीको हिस्सा सन् २०२६ को पहिलो छ महिनामै ४०.३ प्रतिशत पुगेको छ । दीपसिक, झिपु र मिनिम्याक्सजस्ता चिनियाँ एआई कम्पनीहरूले विकास गरेका नयाँ प्रविधिले यसको प्रयोगलाई थप गति दिएको छ ।

यद्यपि एआईको प्रयोग बढे पनि त्यसबाट अपेक्षित आर्थिक प्रतिफल सबै कम्पनीले पाउन नसकेको कम्पनीले जनाएको छ । केपिएमजीको २०२६ प्रतिवेदन अनुसार एआई अपनाएका ८८ प्रतिशत संस्थामध्ये केवल २४ प्रतिशतले मात्र लगानीअनुसारको प्रतिफल प्राप्त गरेको बताएका छन् ।

विज्ञहरूका अनुसार नियमित र दोहोरिने प्रकृतिका काममा एआईको भूमिका बढ्दै जाँदा केही रोजगारी जोखिममा पर्न सक्छन् । तर नयाँ प्रविधिसँग काम गर्न सक्ने सीपयुक्त जनशक्तिको माग भने बढ्ने अपेक्षा गरिएको छ । चीनले सन् २०३० सम्म एआईको प्रयोगलाई थप व्यापक बनाउने लक्ष्य राखेको छ।