काठमाडौँ । ‘प्रभु सिस्टेमेटिक इन्भेष्टमेन्ट स्किम’ले भित्रभित्रै नगद अभावको चाप भोग्न थालेको छ ।
योजनाले सार्वजनिक गरेको २०८३ कार्तिक मसान्तको वित्तीय विवरण अनुसार एक महिनाको अवधिमा कोषमा नयाँ पैसा थपिने क्रम सुस्ताएको छ भने लगानीकर्ता तथा अन्य पक्षलाई तिर्नुपर्ने रकम (दायित्व) झन्डै ८ गुणाले बढेको छ ।
खुलामुखी योजनामा नयाँ लगानीकर्ता थपिँदा बैंक खातामा नगद रकम बढ्नुपर्नेमा प्रभु म्युचुअल फन्ड अन्तर्गतको यस योजनामा ठिक उल्टो अवस्था देखिएको हो ।
गत असोज मसान्तमा ४ करोड १५ लाख ४० हजार १४३ रहेको योजनाको कुल इकाई सङ्ख्या कार्तिक मसान्तमा २ लाख ५१ हजार २२० ले मात्र बढेर ४ करोड १७ लाख ९१ हजार ३६३ पुगेको छ । योजनामा नयाँ लगानीकर्ता थपिने क्रम ०.६० प्रतिशतमा सीमित छ भने अर्कोतिर बैंक खातामा रहेको नगद १ करोड ४८ लाख ४२ हजार रुपैयाँबाट घटेर १ करोड २२ लाख २२ हजार रुपैयाँमा खुम्चिएको छ ।
यही अवधिमा योजनाले तिर्नुपर्ने ‘अन्य दायित्व’ असोजको १ करोड २१ लाख ११ हजार रुपैयाँबाट झन्डै ८ गुणाले बढेर ९ करोड ६३ लाख ३९ हजार रुपैयाँ पुगेको छ । बैंकमा नगद घट्दै जानु र तिर्नुपर्ने दायित्व ह्वात्तै बढ्नुले योजनाबाट आफ्नो इकाई फिर्ता गरेर पैसा लैजाने लगानीकर्ताको चाप बढेको वित्तीय विवरणले देखाउँछ ।
असोज मसान्तमा ४८ करोड २९ लाख १६ हजार रुपैयाँ कुल सम्पत्ति रहेको यस योजनाको सम्पत्ति कार्तिक मसान्तमा ५० करोड २४ लाख ९६ हजार रुपैयाँ र प्रति इकाई मूल्य (न्याभ) ११ रुपैयाँ ६३ पैसाबाट बढेर १२ रुपैयाँ ०२ पैसा पुगेको छ । त्यस्तै, असोजमा ४ करोड ७० लाख २२ हजार रुपैयाँ रहेको खुद नाफा कार्तिकमा ६ करोड ४९ लाख ७९९ रुपैयाँ पुगेको देखिन्छ ।
कार्तिक मसान्तको कुल आम्दानी ६ करोड ४२ लाख ७३ हजार रुपैयाँमध्ये करिब ६० प्रतिशत अर्थात् ३ करोड ८३ लाख १७ हजार रुपैयाँ सेयरको बजार भाउ बढेर देखिएको ‘कागजी नाफा’ मात्र हो ।
असोज मसान्तमा ४ करोड ५१ लाख रुपैयाँ रहेको ‘अन्य सम्पत्ति’ एकै महिनामा दोब्बरभन्दा बढीले बढेर ११ करोड २७ लाख २८ हजार रुपैयाँ पुगेको छ । करिब ५० करोड रुपैयाँको सानो कोषमा कुल सम्पत्तिको २२ प्रतिशतभन्दा बढी रकम एउटै अस्पष्ट शीर्षकमा थुप्रिनु सामान्य मानिँदैन । यति ठुलो रकम के कति कारणले ‘अन्य सम्पत्ति’ र ‘अन्य दायित्व’ मा देखिएको हो भन्ने विषयमा वित्तीय विवरणको टिप्पणीमा केही खुलाइएको छैन ।
कोष व्यवस्थापक प्रभु क्यापिटलले आफैँले प्रत्यक्ष सेयर छनोट गर्नुको साटो प्रतिस्पर्धी ‘सिद्धार्थ इक्विटी फन्ड’ को २ लाख इकाई (२० लाख रुपैयाँ) खरिद गरेको छ । एउटा फन्डले अर्को फन्डको इकाई किन्दा लगानीकर्तालाई व्यवस्थापकीय शुल्कको दोहोरो भार पर्ने जानकारहरू बताउछन् ।
योजनाले स्थिर ब्याज आउने बैंकको मुद्दती निक्षेप र ऋणपत्रमा एक रुपैयाँ पनि नराखी कुल सेयर लगानीको ४३ प्रतिशतभन्दा बढी अर्थात् २० करोड ८९ लाख रुपैयाँ जलविद्युत समूहका १७ वटा कम्पनीमा मात्र खन्याएको वित्तीय विवरणमा देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्