विश्व अर्थतन्त्रमा यू–टर्न, पाँच दशकयताकै बढी वृद्धि सम्भव छ ?


गत वर्षको सुुरुवाततिर विश्व बैकले एक प्रतिवेदन सार्वजनिक गर्दै महामारीबाट पिल्सिएको अर्थतन्त्रलाई ‘ग्रेट डिप्रेसन’को संज्ञा दिएको थियो तर त्यसको करिब एक वर्षपछि अति–विकसित, विकसित मुलुकको अर्थतन्त्र चलायमान मात्रै भएको छैन, यसले विश्व अर्थतन्त्रमा ‘भी–सेप’को पुनःबहालीको बाटोमा गएको छ ।

निरु अर्याल

विश्व बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले भनेको छ, “यस वर्ष सन् २०२१ मा विश्वको आर्थिक वृद्धिदर ५.६ प्रतिशतले बढ्ने छ ।” कोभिड–१९ विरुद्ध खोपका लागि धनी मुलुकहरूले सरकारी सहायतामा व्यापक खर्च गरेका कारण पनि यस वर्ष तीव्र आर्थिक विकास हुने बैंकको अनुमान छ । यदि प्रक्षेपण गरिए जसरी यो वर्ष आर्थिक वृद्धि भएमा विगत पाँच दशक यताकै सबैभन्दा बढी आर्थिक वृद्धिदर भएको मानिने छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का अनुसार यस वर्ष अर्थात सन् २०२१ मा विश्वको अर्थतन्त्र कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा ९१.९८ ट्रिलियन पुग्नेछ । सन २०२० मा विश्व अर्थतन्त्र ८४.५४ ट्रिलियन पुगेको थियो । कोभिडको महामारीका कारण यस वर्ष विश्व अर्थतन्त्र सन २०१९ को तुलनामा ३.५ प्रतिशत ऋणात्मक हुन पुगेको थियो ।

आईएमएफका अनुसार, सन् २०२१ मा जिडिपीका आधारमा सबैभन्दा धेरै संयूक्त राज्य अमेरिकाको अर्थतन्त्र २०४ खर्ब ९० अर्ब अमेरिकी डलर रहने छ भने उदाउँदै गरेको चीनको अर्थतन्त्र १३४ खर्ब पुग्ने छ । विश्वको अर्थतन्त्रमा अमेरिकी र चिनियाँ अर्थतन्त्रको निकै चर्चा हुने गर्दछ । आईएमएफले जापानको अर्थतन्त्र ४.९७ ट्रिलियन पुग्ने प्रक्षेपण गरेको छ । यस्तै, जर्मनीको अर्थतन्त्र ४ र संयुक्त अधिराज्य बेलायतको अर्थतन्त्र २.८३ ट्रिलियन पुग्ने छ । सन् २०२१ मा फ्रान्सको अर्थतन्त्र २.७८ र भारतीय अर्थतन्त्र २.७२ ट्रिलियन अमेरिकी डलर पुग्नेछ ।

यसरी नै, इटलीको २.०७, ब्राजिलको १.८७ र क्यानडाको १.७१ ट्रिलियन अमेरिकी डलर पुग्ने आईएमएफको अनुमान छ । विश्व बैंकले गत जनवरीमा यस वर्ष अर्थात् २०२१ मा ४.१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । वर्षको मध्यतिर चालू आर्थिक वर्षको आर्थिक वृद्धिको परिदृश्यलाई अद्यावधिक गर्दै उसले विश्व अर्थतन्त्र सुधारोन्मुख रहेको बताएको हो । यद्यपि प्रक्षेपण गरिएजस्तो वृद्धिदर विकासशील मुलुकका लागि परिस्थिति सहज नहुने पनि उसले स्पष्ट पारेको छ ।

चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण संसारले मानवीयसँगै आर्थिक संकटको सामना गरिरहेको छ । अति–विकसित मुलुकहरूमा खोपलाई प्राथमिकता दिइए पनि कोरोनाका नयाँ–नयाँ भेरियन्टको त्रास भने अझै हटेको छैन ।
यद्यपि कोभिडका कारण ठप्प भएको अर्थतन्त्र भने बिस्तारै चलायमान हुन सुरु भएको छ । यसैलाई मध्यनजर गर्दै विश्व बैंकले आफ्नो परिदृश्य अध्यावधिक गरेको हो । बैकका अनुसार गत वर्ष विश्वको अर्थतन्त्र ३.५ प्रतिशतले खुम्चिएको थियो ।

गत वर्ष कोरोना भाइरसको महामारीले व्यापारमा पु-याएको अवरोध, व्यवसाय बन्द र मानिसलाई घरभित्रै बस्न बाध्य पारेका कारण आर्थिक वृद्धिमा नकारात्मक असर परेको थियो । बैंकले गरेको यो प्रक्षेपण सन् १९७३ पछि सबैभन्दा बढी हो । सन् १९७३ मा विश्वको आर्थिक वृद्धि ६.६ प्रतिशत थियो ।

सन् २०२१ को आर्थिक वृद्धिदर विश्वका सबैजसो मुलुक एवं क्षेत्रमा समान किसिमको भने हुने छैन । गत वर्षको सुुरुवाततिर विश्व बैकले एक प्रतिवेदन सार्वजनिक गर्दै महामारीबाट पिल्सिएको अर्थतन्त्रलाई ‘ग्रेट डिप्रेसन’को संज्ञा दिएको थियो तर त्यसको करिब एक वर्षपछि अति–विकसित, विकसित मुलुकको अर्थतन्त्र चलायमान मात्रै भएको छैन, यसले विश्व अर्थतन्त्रमा ‘भी–सेप’को पुनःबहालीको बाटोमा गएको छ ।

प्रतिवेदनअनुसार कम विकसित र अल्प–विकसित मुलुकहरू महामारीबाट बाहिर आउन अझै केही समय लाग्नेछ । विशेषगरी विकसित मुलुकहरू संयुक्त राज्य अमेरिका, बेलायत, जापान, चीन, कोरिया, भारत लगायतका विभिन्न मुलुकहरूले आफ्नो अर्थतन्त्रलाई चलायमान बनाउन करदाताले बुझाएको ठूलो राजस्व रकम आर्थिक पुनर्उत्थानमा खर्च गरेका छन् ।

“त्यही कारण पनि ठूला अर्थतन्त्र भएका ९० प्रतिशत मुलुकले अर्को वर्षभित्रै कोभिड–१९ महामारीको पूर्वअवस्थामा आफ्ना मुलुकलाई पु¥याउने सम्भावना छ,” उसले भनेको छ । यस्तो परिस्थिति विकासशील कम विकसित मुलुकका लागि त्यति सहज नहुने भन्दै उसले न्यून आय भएका मुलुकहरूलाई व्यापक स्तरमा खोप सुविधा उपलब्ध गराउन सहयोगलाई निरन्तरता बनाउन धनी राष्ट्रहरूलाई आग्रह गरेको छ । यी मुलुकहरूमा खोप अभियान पनि सुस्त छ ।

अमेरिकी अर्थतन्त्र ६.८ प्रतिशतले बढ्ने

विश्व बैंकले सन् २०२१ मा अमेरिकी अर्थतन्त्र ६.८ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । गत जनवरीमा यस वर्षको अमेरिकी अर्थतन्त्र ३.५ प्रतिशतले मात्र वृद्धि हुने प्रक्षेपण गरिए पनि पछिल्लो प्रतिवेदनले उक्त अनुमानमा संशोधन गर्दै यस वर्ष अमेरिकी अर्थतन्त्रमा दोब्बर वृद्धि हुने प्रक्षेपण गरेको हो ।

कोभिडका कारण विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक अमेरिकाको आर्थिक बृद्धिदर गत वर्ष सन २०२० मा ३.५ प्रतिशतले ऋणात्मक बनेको थियो । तर, कोरोना भाइरस विरुद्धको खोप निर्माणमा अमेरिकी कम्पनीहरूले सफलता पाएसँगै अहिले खोप वितरण तीव्र गतिमा भइरहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्, जसले गर्दा अमेरिकी अर्थतन्त्र उकालो लागेको छ भने पचासै वटा राज्यमा पहिला जारी गरिएका कतिपय प्रतिबन्धहरूलाई समेत फुकुवा गरिएको छ ।

चीनले अमेरिकालाई उछिन्ला ?

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको अर्थतन्त्र सन् २०२१ मा ८.५ प्रतिशतले वृद्धि हुने विश्व बैंकको अनुमान छ । कोरोना भाइरसलाई चाँडै नियन्त्रण गरी अर्थतन्त्र खुला गरेको चीनको गत वर्ष पनि अर्थतन्त्र २.३ प्रतिशतले वृद्धि भएको प्रतिवेदन सार्वजनिक भएको थियो ।
चीनको नेसनल ब्यूरो अफ स्टाटिस्टिक्स नामक प्रतिवेदनअनुसार २०२० को मध्यसम्म बाँकी विश्व लकडाउनमा रहेको अप्रिल, मे र जुनमा चिनियाँ अर्थतन्त्र आकासिएको उल्लेख छ ।

सन २०२० को पहिलो तीन महिनामा चिनियाँ अर्थतन्त्रमा ६.८ प्रतिशतले गिरावट आएको थियो । बेलायती अनुसन्धान संस्था ‘सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्च’ ले गरेको एक अध्ययन प्रतिवेदनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा चीनले अमेरिकालाई उछिन्ने उल्लेख गरिएको छ ।

प्रतिवेदनमा कोभिड–१९ को व्यावसायिक व्यवस्थापनले चीनको प्रगति अमेरिका र युरोपमा भन्दा छिटो हुने उल्लेख छ, जसमा भारतीय अर्थतन्त्र सन् २०३० मा विश्वकै तेस्रो ठूलो हुने अनुमान गरिएको छ । आईएमएफका अनुसार सन् २०२० मा धनी राष्ट्रको सूचीमा भारत सातौँ स्थानमा छ ।

भारतीय अर्थतन्त्रमा सुधारको संकेत

अन्तर्राष्ट्रिय आर्थिक संस्थाहरूका अनुसार कोरोना भाइरस (कोभिड–१९) को महामारीको पहिलो, दोस्रो, हुँदै तेस्रो भेरियन्टको सामना गरिरहेको भारतीय अर्थतन्त्रमा केही सुधार हुनेछ । कोभिडसँग लडन भारतले ल्याएको राहत प्याकेज र खोपलाई प्राथमिकता दिइएसँगै संकुचनमा आएको भारतीय अर्थतन्त्र धिमा गतीमा उकालो लाग्दैछ ।

आर्थिक थिंक ट्यांक ‘नेसनल काउन्सिल अफ एप्लाईड रिसर्च’ को अध्ययन प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा ३.३ प्रतिशतले संकुचन आएको भारतीय अर्थतन्त्र चालू आर्थिक वर्षमा ४.४१ प्रतिशतले बढ्ने अनुमान छ । विश्व बैकले पनि खोप प्रभावकारी भएमा भारतीय अर्थतन्त्र बिस्तारै उकालो लाग्ने र सन २०२२ सम्म भारी मात्रामा सुधार हुने बताएको छ ।

यूरोपेली अर्थतन्त्र सामान्य

युरो मुद्रा प्रयोग गर्ने युरोपका १९ वटा मुलुकको अर्थतन्त्र ४.२ प्रतिशतले वृद्धि हुनेछ । गत वर्ष यी मुलुकको अर्थतन्त्रमा ६.६ प्रतिशतको गिरावट आएको थियो । जापानको अर्थतन्त्र गत वर्ष ४.७ प्रतिशतले गिरावट आए पनि यस वर्ष २.९ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

लयमा फर्किदै बेलायती अर्थतन्त्र

आईएमएफले पनि चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा बिश्व अर्थतन्त्रमा व्यापक सुधार हुने अनुमान गरेको छ । आईएमएफका अनुसार बेलायती अर्थतन्त्र सन २०२२ को अन्त्यसम्म कोभिड १९ महामारी भन्दा पहिलेको अवस्थामा फर्किने छ । युरोपका अधिकांश मुलुकले खोपलाई तीव्र बनाएका कारण युरोपेली अर्थतन्त्रले गति लिने बताइएको छ । बेलायत हालसालै यूरोपियन यूनियनबाट अलग भएको राष्ट्र हो ।


(अर्याल, अमेरिकाका लागि टक्सार आर्थिक म्यागजिनकी प्रतिनिधि हुन्)
टक्सार म्यागजिन, भाद्र २०७८ मा प्रकाशित
PDF

सम्बन्धित समाचारः जो बाइडनको ६० खर्बको बजेट १० खर्बको राहतले फेरिदै अमेरिकी अर्थतन्त्र