६० किलो सुन प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ


काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा थप २ जना चिनियाँ नागरिकलाई प्रकाउ गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त प्रकरणमा काठमाडौंबाट बिहीबार राति २ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो। प्रकाउ गरिएकाहरुको नाम भने खुलाइएको छैन

वुधबार पनि सोही प्रकरणमा प्रहरीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। उनीहरुविरुद्ध अवैध सुन ओसारपसार तथा सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइसकेको छ । प्रहरीले ललितपुरको एक अपार्टमेन्टमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये टीयान मि र वेन तोङ दम्पति हुन् । उनीहरु ठमेलकाे ‘केटीबी’ नामको रेष्टुरेण्टका सञ्चालक हुन । डिङ सेग्फा र ली–नेङकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाडीमा सुन ओसार्ने काममा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ ।

राजश्व अनुसन्धान विभागले साउन ३ गते ब्रेक सुमा राखेर हङकङ हुँदै नेपाल भित्रिएको ६० किलो सुन विमानस्थलबाट भन्सार जाँचपास गरी बाहिरिएपछि बरामद गरेको थियो ।

यस प्रकरणमा हालसम्म २३ जना प्रकाउ परेका छन् । राजस्वले १८ जनालाई हिरासतमा राखेर बयान लिएको थियो। विभागले सुन प्रकरणमा संगठित अपराधको तत्व देखिएको भन्दै थप अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई लगाएको थियो ।