यतिबेला हामी नेपालीहरू साँच्चिकै बेतुकको बहसमा अलमलिएका छौं । सामाजिक सञ्जालहरू हेर्ने हो भने तर्क-वितर्क र कुतर्कहरूले एक-अर्कालाई निचा देखाउने प्रयास भइरहेको देखिन्छ । फेसबुक, ट्वीटर र टिकटकका लडाइ-भिडाइहरू फरक-फरक प्रकृतिका छन् तर यी सबैले देखाइ रहेको चित्र र चरित्र लगभग एकै प्रकृतिको छ ।
आमसञ्चारकर्मबाट नयाँ पार्टी खोलेर राजनीतिमा होमिएका रवि लामिछानेको सानो पनि आलोचना गर्नै हुँदैन, एउटा समूह व्यापक आक्रमणमा उत्रिन्छ । पढाइले इन्जिनियर तथा र्याप गायनबाट काठमाडौं महानगरको मेयरमा जितेका बालेन्द्र शाह वा महानगरको सानो टिप्पणी गर्नै हुँदैन, अर्को समूह तम्तयार भएर बसेको हुन्छ । पुराना भनिएका दल एमाले, माओवादी र कांग्रेसका कार्यकर्ताहरूको अलिअघिसम्म यस्तै समूहगत आक्रमण हुन्थ्यो । नाम भनिरहनु पर्दैन, एउटा राजनीतिक दलले त साइबर सेना समूह नै गठन गरेको थियो ।
समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले गैर आवासीय नेपाली संघको कार्यक्रममा विदेश बस्ने नेपालीहरूप्रति लक्षित हुँदै- बिहान जुरुक्क उठेर बिहान आँखाका चिप्रा नपुच्छ्दै नेपाली पोलिटिक्सका बारेमा किन कमेन्ट गर्नुपरो, यसका लागि मरेका, रगत बगाएका, हातखुट्टा बाँचेका र संजोगले बाँचेका हामी जिउँदै छौं, यो देशको चिन्ता हामीले गर्छौं….भन्ने अभिव्यक्ति दिएपछि केही दिन त्यही चिप्रे टिप्पणीले रामकुमारी ट्रोलको शिकार भइन ।
केहीले ने यिनले फूर्ति हाँकिन, रेमिट्यान्स बन्द गरिदिउँ भनेर ह्यासट्यागसमेत चलाए । अढाइ दशकदेखि आर्थिक लेखनमा संलग्न पंक्तिकार भने त्यो ह्यासट्याग अभियानसँगै मुसुक्क हाँस्योमात्र, किनकी कुन देशबाट कसले कति र केका लागि रेमिट्यान्स पठाउँछ भन्ने थोरै ज्ञान छ । अनि, अर्को कुरा रामकुमारी झाँक्री न राज्य हुन, न त राज्यको उपल्लो कुनै निकायमै कतै छिन् । यसबारे लामो चर्चा नगरौं । आजको परिचर्चाको विषय यो होइन ।
यहीँनेर अर्को कुरा जोडियो, एनआरएन अर्थात् गैर आवासीय नेपालीको । लामो समयदेखि नेपाल छाडेर अथवा भनौं त्याग गरेर विदेशका विभिन्न मुलुकलाई नै आफ्नो कर्मभूमि बनाउँदै आएका नेपालीहरूले नेपालप्रतिको मायाँ, श्रद्धा त्याग्न नसकेर सुरु गरेको गैर आवासीय नेपाली अभियान पछिल्लो समयमा बद्नाम हुँदै गइरहेको छ ।
गैर आवासीय नेपाली अर्थात् नेपाल छाडेर विदेशकै कर्मभूमिमा जमेका/रमेका नेपाली र उनीहरूको नाममा बनाइएको गैर आवासीय नेपाली संघ (एनआरएनए) फरक कुरा हो । एनआरएनएमा पदका नाममा अघिल्लो कार्यकालदेखि देखिएको विचित्रको गाईजात्रा यसपालि झन् विकृत रुपमा देखियो । चुनाव हारेका समूहले आफूलाई विजेता घोषित गरेर पद बहालीसमेत गरिसके । एनआरएनहरूको विवाद र बहस अर्कै छ, फेरि ।
अर्को सामाजिक सञ्जाल टिकटक त हेरिसाध्य छैन । ससाना किशोर/किशोरीदेखि ५५/६० कटेका वृद्ध/वृद्धासम्मका अश्लिल प्रकृतिका भिडियोका कारण त्यो सामाजिक सञ्जाल परिवारका सदस्यबीच खोल्नै नहुने अवस्था त छँदैछ, अहो! त्यहाँ एक अर्काप्रतिका गालीगलौच ! घरायसी विवादसमेत लाइभमा बसेर अति असभ्य ढंगले गालीगलौच देख्दा नेपाल सरकारले तत्कालै यसमा प्रतिबन्ध लगाइ हाले हुन्थ्यो जस्तो भइसकेको छ ।
आखिर हामी किन यति असहिष्णु बन्दै गएका छौं त? के सामाजिक सञ्जालले हामीलाई एकलकाँटे बनाउँदैछ? के हामीलाई असामाजिक बनाउँदैछ? एक पटक विचार गर्नुपर्ने बेला आएको छ ।
हरेक मानिसमा कुनै न कुनै समस्या हुन्छ नै । कोही आर्थिक रुपमा कमजोर होला, कोही शिक्षामा । कोही शारीरिक रुपमा, कोही रुपको बनावटमा । कोही शिक्षामा असफल होला, कोही व्यापारमा, कोही रोजगारीमा, कोही प्रेम सम्बन्धमा, कोही पारिवारिक सम्बन्धमा । कसैलाई बुवा/आमा वा अभिभावकको दिनदिनको गालीको पिरलो होला, कसैलाई हाकिमको, कसैलाई श्रीमान्/श्रीमतीको ।
कसैलाई असाध्य गम्भीर रोगका कारण उपचार गर्न नपाउँदाको पीडा छ, अलिकता थोरै सहयोग पाए बाँच्थे कि भनेर उसले याचना गरिरहेको हुन्छ । अर्कातिरका कुण्ठा ओकेलेर हामी उसैलाई गाली गर्न पाउँदा मोबाइलका स्क्रिन हेर्दै आत्मरतिमा रमाउँछौं- क्यासँग भन्देँ, यसलाई । चाहे, हामीले गरेको टिप्पणीमा उसको सून्यभरको संलग्नता नै किन नहोस् ।
यो त एक उदाहरणमात्रै हो, हामी कसरी असामाजिक बन्दै गइरहेका छौं भन्ने । इन्टरनेटको आविष्कारसँगै फेसबुक, म्यासेन्जर-(जुन पहिला फरक कम्पनी थियो), हाइफाइभ, याहु-म्यासेन्जर, गुगल ग्रुप्स(जुन पछि विफल भयो), याहु ग्रुप्स, ट्वीटर, इन्टाग्राम जस्ता सञ्जालहरू एक-अर्काबीचको सम्बन्ध, साझेदारी बढाउनका लागि बने ।
मूल अवधारणाअनुसार यिनलाई सही ढंगले चलाउँदै जाँदा विश्वभरिकै सम्बन्ध विस्तार, सूचना र ज्ञान आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेलिरहेका पनि छन् । आज म्यासेन्जर, स्काइप, भाइबर, टेलिग्राम, इमोजस्ता सञ्जालका कारण विश्वभरि नै कम मूल्य (निःशुल्क भनिए पनि हामीले इन्टरनेट/डेटाको मूल्य तिरिरहेका हुन्छौं)मा सहजै तत्कालै सम्पर्क सहज भएको छ । यसरी नै नयाँ-पुराना सम्बन्धहरू बनाउनका यी महत्त्वपूर्ण अवयव पनि हुन् ।
तर, यिनको प्रयोग बढेसँगै अवसाद पनि बढिरहेको छ । फेसबुक लाइभको प्रयोग गरेर आत्महत्याजस्ता घटना प्रसार भइरहेका छन् । इन्टरनेटमा पर्याप्त निगरानी प्रणाली नहुँदा बालबालिकाहरूमाझ अर्को विकृति फैलिइरहेको छ । नेपाल सरकारले बलत्कारजन्य घटना बढेको भन्दै केही वर्षअघि सय अधिक यौनजन्य बेवसाइटहरूमा प्रतिबन्ध लगाए पनि अन्य हजारौं फिल्टर नगरिएका साइटहरू यत्रतत्र खुलिरहेका छन् ।
सबैभन्दा चिन्तालाग्दो विषय त यस्ता सञ्जालको दुरुपयोग गरेर बालयौन दुरुपयोगका घटना बढ्दो छ, जसमध्ये निकै सानो संख्यामा मात्र प्रहरीसम्म उजुरी पुग्छ ।
हामी सामाजिक सञ्जालहरूमा चाहिने कुरामा कम छलफल गर्छौं, बेतुकका बहसहरूमा आफूलाई अलमल्याउँछौं । ९० को दशकपछि नेपालमा हुनुपर्नेजति विकास नभएको पक्षलाई हामी गौण मान्छौं र अलिअलि सतहमा देखिने सेताटावरहरू देखाएर समृद्धिका पक्षमा बहस गर्छौं ।
आजका दिनसम्म पनि नेपालमा किसानहरूले मुख्य खेतीका सिजनमा रासायनिक मल नपाएको कुरा हामीलाई गौण लाग्छ । दुई किलो चिनीका लागि दिनभरि लाइन लाग्नु परेको कुरा गौण लाग्छ । अनि, २०२१/२२ सालमा नेपालमा खडेरी परेर उब्जनी नभएको साल लाइन लागेर चामल लिएको फोटो देखाउँदै भन्छौं- हेर राजाका पालामा त झन् भोकमरी थियो ।
हो, भोकमरी थियो, गरिबी थियो, पीडा थियो, क्रन्दन थियो र त पटक-पटक आन्दोलन र क्रान्तिहरू गरेर व्यवस्था परिवर्तन गर्नु परेको । प्रजातन्त्र, बहुदल, गणतन्त्र आदि नाममा शासकीय प्रणाली फेर्नु परेको । ऊबेलामा रोजगारी थिएन र त, कामको खोजीमा सुरुका वर्षहरूमा भारत, त्यसपछि मध्य एसिया र खाडीका देश हुँदै युरोप र अमेरिकासम्म जानु परेको ।
आज सामाजिक सञ्जालमा निर्धक्क युवापुस्ताले लेख्न थालेको छ- नेपाल किन बस्ने? आदर्शका कुरा छाडेर भन्नु पर्दा हरेक चार जनामा एक जना युवा यतिखेर हातमा पासपोर्ट बोकेर बसेको छ । अवसरको खोजीमा पुतलीसडक, बागबजार र बानेश्वरका कन्सल्टेन्सीमा पासपोर्ट बुझाउने प्लस टु सकेका, स्नातक सकेका युवाको संख्या अनगिन्ति छ ।
एयरपोर्टमा खाली खुट्टा वा फाटेका लुगा लगाएका बाबुले छोरालाई कामका लागि मलेसिया/कतार उडाउन लागेका भिडियो भाइरल हुनमात्र खिचिएका हैनन्, त्यो हाम्रो वर्तमान नेपालको यथार्थ चित्र हो । जति दैनिक विदेश उडिरहेका छन्, त्योभन्दा ठूलो संख्या म्यानपावर कम्पनीमा पासपोर्ट बुझाएर भिजा झरेपछि उडौंला भनेर ऋण काढेर बसेका युवाको संख्या छ ।
एकातिर उद्योगीहरू कामदार पाइएन भन्दैछन्, अर्कातिर मासिक १५/२० हजार रुपैयाँको औसत पारिश्रमिकका लागि विदेश उडिरहेका युवाको ठूलो संख्या छ । आखिर किन युवाहरू यो देशमा बस्न चाहिरहेका छैनन्? बहसको विषय यो हुनु पर्ने हो । तर, होइन । हाम्रो चासो र चिन्ता भने पढ्नका लागि नेपाली युवाले विदेशमा कति पैसा लगे भन्नेमा छ । हो, एक जना विद्यार्थी विदेश पढ्न जाँदा उसले यहाँबाट कलेजलाई तिर्नुपर्ने शुल्क लान्छ, केही समय बस्ने/खाने पैसा लान्छ ।
अहिले इन्टरनेट र भूमण्डलीकरणको युगमा कसैले कसैलाई रोक्न सक्दैन । हाम्रो नयाँ पुस्ताले इन्टरनेटबाट विश्व देखिरहेको छ, विश्व हेरिरहेको छ । उसले यहाँ अवसर देख्दैन । यहाँ भइरहेको, पाइरहेका अवसरहरूमा पनि सीमित व्यक्ति र समूहले पार्टीका नाममा, कार्यकर्ताका नाममा, आसेपासे र आफन्तका नाममा कुण्डली मारेर बसिरहेको देख्छ । अनि, ऊ निराश भइरहेको छ र यो देश छाड्न लालायित भइरहेको छ ।
सँगसँगै जोड्नु पर्ने अर्को कुरा, युरोप र अमेरिकाका कुरा छाडौं । एक पटक मलेसिया, कतार, दुबई मात्र होइन, जापान र कोरिया पुगेर आएको युवाले त्यहाँको विकास देख्छ, समृद्धि देख्छ । आफूले कडा परिश्रम गरेर आएको, दिनमा १८ घण्टासम्म उभिएर काम गर्दाको दुःख भूल्छ । गाउँघर फर्किँदा तीन वर्षसम्म पनि पूरा नभएको बुटबल-पाल्पाको बाटोको बिजोग देख्छ । राजमार्गको खाल्डाखुल्डी उस्तै देख्छ । गाउँबाट नगरपालिका बनेको गाउँघरमा बढेको केबल कर देख्छ, अरु उस्तै देख्छ अनि ऊ निराश नभएर को हुन्छ?
प्रतिक्रिया दिनुहोस्