निरन्तर घट्दै सेयरबजार, बुधबार ३१ अंकले घट्यो परिसूचक


काठमाडौं । सेयरबजारको गिरावट बुधबार पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३१.७६ अंकले घटेर २२७५.६८ अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.९० अंकले घटेर ४३६.८८ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ ।

कारोबार रकमका आधारमा अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।

कम्पनीको ४ करोड ५८ लाख ९६ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर बढेको छ ।

यस दिन ग्रीन भेञ्चर्सको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ९.३६ प्रतिशतले घटेको छ ।

कूल २३३ वटा कम्पनीको ३६ लाख २ हजार ८ सय ४८ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २६ करोड ९२ लाख १९ हजार ४ सय २१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।