अर्थतन्त्र हल्ला गरिएजस्तो सङ्कटमा छैन्: सांसद शाह


काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले नेपालको अर्थतन्त्र हल्ला गरिएजस्तो सङ्कटमा नरहेको जनाउँदै संवेदनशीलतालाई ख्याल गरेर कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा प्रतिनिधि सभाको आजको बैठकमा आफ्नो धारणा राख्दै शाहले अर्थतन्त्र सङ्कटमा पर्‍यो भनेर हल्ला गर्नुभन्दा पनि समाधानका उपाय पहिल्याउनुपर्ने बताए । इन्धन आयातमा भएको वृद्धि, सवारीसाधन, सुनचाँदी, चामललगायतका सामग्रीको अत्यधिक पैठारीका कारण अर्थतन्त्र चापमा परेको तथ्य पेश गर्दै सांसद शाहले भने, “हामी डेञ्जर जोनमा छौँ । तर समस्या नै परिहालेको भने अवस्था होइन ।” उनले राजश्व सङ्कलन राम्रो रहेकाले करका दायरा विस्तारमा ध्यान दिनुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र)का सांसद जयपुरी घर्तीले व्यवस्था बदलिए पनि नागरिकको अवस्था नदबलिएकाले त्यसैमा विशेष ध्यान दिनुपर्ने बताइन् । उद्योग, पर्यटन, कृषि तथा स्वास्थ्य शिक्षाजस्ता विषयलाई विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमा प्रमुख प्राथमिकतामा राखिएकामा अर्थमन्त्रीलाई धन्यवाद दिँदै उनले उच्च शिक्षालाई अनुसन्धानमुखी र व्यवहारिक बनाउन आग्रह गरिन ।

सोही दलका सांसद शेख चाँदताराले विगतको सरकारको गलत नीतिका कारण अर्थतन्त्रमा सङ्कट आएको भन्दै वर्तमान सरकार र अर्थमन्त्रीलाई दोष दिने प्रवृत्ति सदासर्वदा गलत भएको धारणा राखे ।

नेकपा (एमाले)का सांसद कृष्णप्रसाद दाहालले बजेटका प्राथमिकता र सिद्धान्त कार्यान्वयमुखी हुनुपर्नेमा जोड दिँदै अन्यथा भएको खण्डमा त्यो केवल निवन्धमामात्रै सीमित हुने धारणा राखे । उनले प्रदेश र स्थानीय तहले गर्ने कामलाई माथि नै राख्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने सुझाव दिए । बजेट र योजना नभएका कार्यक्रम बालुवाटारबाट श्रव्यदृश्यका माध्यमबाट शिलान्यास गरेर अर्थतन्त्रलाई समस्यामा पारिएको भन्दै सांसद रामबहादुर विष्टले गलत अभ्यासलाई पूर्णरूपमा परित्याग गर्नुपर्ने बताए । रासस