‘रोड टु ल्हासा’को साहसिक पर्यटकको टोली काठमाडाैँमा


काठमाडाैँ । साहसिक पर्यटनलाई प्रर्वद्धन गर्ने उद्देश्यले भारतीय कम्पनी एडभेन्चर ओभरल्याण्डले आयोजना गरेको रोड टु ल्हासाको टोली काठमाडाैँ आईपुगेको छ । १० वटा गाडीमा चार जना महिला सहित २० जनाको यो समुहले भारत, नेपाल र चीन गरि तीन देशको यात्रा तय गर्ने जनाइएकाे छ ।

सडकमार्गबाट विश्वका विभिन्न देशको साहसिक यात्रा गराउने कम्पनी एडभेन्चर ओभरल्याण्डको २० जनाको टोली भारतको गोरखपुर हुँदै लुम्बिनी र लुम्बिनीबाट काठमामाडाैँ आइपुगेको हो ।

काठमाण्डौ आएको उक्त टोलीलाई शुक्रवार मेरियट होटलबाट नेपाली राष्ट्रिय झण्डा फहराएर विदाइ गरिएको छ । सो अवसरमा पर्यटकहरुलाई शुभकामना व्यक्त गर्दै नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले साहसिक पर्यटन प्रर्वद्धनका लागि रोड टु ल्हासा यात्रा सहयोगी हुने बताए।

उनले नेपाल संस्कति प्रकृति र साहसिक पर्यटनको केन्द्र भएको उल्लेख गर्दै आयोजकलाई नेपाल केन्द्रित साहसिक यात्राका अन्य संस्करण आयोजन आग्रह आग्रह गरे । आयोजक कम्पनी एडभेन्चर ओभरल्याण्डका सञ्चालक तथा निर्देशक सञ्जय मदानले नेपाललाई समेटेर यो साहसिक यात्रा तय गर्न पाउँदा खुशी लागेको बताए ।

उनले नेपालमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै आफ्नो टोलीले गौतमबुद्ध जन्मस्थल लुम्बिनी हुँदै काठमाण्डौ आइपुग्दा छुट्टै आन्नदको महसुश गरेको प्रतिक्रिया दिए । गोरखपुरबाट लुम्बिनी हुँदै काठमाण्डौ आइपुगेको सो टोलीमा १० वटा गाडीमा २० जना साहसिक पर्यटकहरु रहेका छन् ।

काठमाडाैँबाट रसुवा (केरुङ) , हुँदै यो टोलीले तिब्बत र चीनका विभिन्न स्थान हुँदै ल्हासा पुग्ने र त्यहाँबाट फरक रुट न हुँदै पुनः नेपाल फर्किने छ । यो यात्रा तय गर्न २२ दिन लाग्ने ओभरल्याण्डका सञ्चालक तथा निर्देशक मदानले जानकारी दिए । २२ दिनको यो यात्रामा टोलीले ३ हजार ५ सय किलोमिटरको यात्रा गर्ने यात्रामा सहभागी आदित्य बोथराले जानकारी दिएका छन्।