काठमाडाैँ । साना तथा मझौला व्यापारीहरुले सहकारी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।
काठमाडौँको न्युरोड क्षेत्रमा व्यापार\व्यवसाय गर्दै आएका उनीहरूले सहकारी क्षेत्रमा आएको संकटका कारण पनि आफूहरुको व्यवसाय फस्टाउन नसकेको प्रतिक्रिया समेत दिएका छन् । व्यापारीहरूले वैदेशिक रोजगारीमा जानेहरूकाे लर्कोले पनि व्यापार दिनप्रतिदिन घटदै गईरहेको बताएका छन् ।
राष्ट्रिय व्यापार संघका उपाध्यक्ष वैकुण्ठ दाहालले सहकारीको समस्याले होलसेल बजारमा धेरै ठूलो नकारात्मक असर परेको गुनासो गरे । उनले सो समस्या समाधान गर्न र बैंक तथा वित्तीय संस्थाहरुलाई साना तथा मझौला व्यापार, व्यवसायमा लोन प्रवाह गरिदिन पनि सरकारसँग माग गरे ।
पुस्तक व्यापारीहरू पनि युवा पुस्ता प्लस टु सकिएपछि विदेशिने क्रम बढेकाले व्यापार ठप्प भएको बताउँछन् । खाँडादेवी सेकेण्ड हेण्ड बुक सपका सञ्चालक आशिष खत्रीले गत वर्षको तुलनामा यस वर्ष पुस्तकको व्यापार ५० प्रतिशत भन्दा बढी घटेको बताए । पढ्ने उमेरका युवाहरु विदेश जाने भएपछि व्यापार घट्ने कुरा स्वभाविकै हुने उनको बुझाई थियो ।
जुत्ताको व्यापार गर्दै आएका व्यवसायीहरूले पनि जुत्ता लगाउने जनशक्ति बाहिर गएकाले आफूहरूको व्यापार नभएको बताएका छन् । जुत्ता लगाउने युवा उमेरका मानिसहरू विदेशमा रोजगारीका लागि जाने क्रम बढेकाले जुत्ताको व्यापार विगतको भन्दा २५ प्रतिशत पनि हुन नसकेको दावा सुज एण्ड फेसन सेन्टरका संचालक छावाछिरिङ लामाको अनुभव छ ।
भूकम्प र कोभिड महामारीपछि आफूहरूको व्यापार खस्कँदै गएको नमूना फेसन कलेक्शनका नवराज गौतमले बताए । उनले सहकारीको वचत रकम फिर्ता नहुँदा पनि व्यवसाय चलाउन कठिन भएको बताए ।
व्यापारीहरूकाअनुसार देश भित्रै रोजगारी अभिवृद्धि गर्ने र सहकारीलगायतका वित्तीय संस्थाहरूलाई व्यवसायमैत्री बनाउन सकेमात्रै मुलुकमा व्यापार व्यवसाय फस्टाउने भएकाले यस काममा सरकारले विशेष ध्यान दिनुपर्दछ । राष्ट्रिय व्यापार संघका उपाध्यक्ष दाहालले बैंकहरूले ठूलो व्यापारीहरूलाई मात्रै लोन दिने भएकाले पनि आफूहरू मारमा परेको उल्लेख गर्दै यस्तो अवस्थामा सरकारले आफूहरुको संरक्षण हुनेगरी कानूनी व्यवस्था गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्