काठमाडाैँ । कानूनअनुसार दर्ता भएका क्रसर, बालुवा तथा खानी उद्योगबाट नियमानुसार दस्तुर लिई अविलम्व नवीकरणको व्यवस्था मिलाउन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले माग गरेको छ ।
मंगलवार महासंघको ‘तेस्रो महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा सम्मान’ कार्यक्रममार्फत सरकारसँग यस्तो माग गरेको हो । कार्यक्रम बोल्दै महासंघका नवनिर्वाचित अध्यक्ष सीताराम न्यौपानेले सरकारले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरूलाई संरक्षण गर्ने हिसावमा नीति निर्माण गर्नुपर्ने बताए।
उनले २०७२ साल असार मसान्तपछि क्रसर उद्योगको नवीकरण रोकिएकोप्रति महासंघले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए । उनले सरकारले क्रसर व्यवसायीहरुको मागलाई अहिलेसम्म सम्बोधन नगरेको गुनासो गरे । अध्यक्ष न्यौपानेले २०७७ सालमा क्रसर, बालुवा उद्योगमाथि लगाइएको दूरीसम्बन्धी मापदण्डबारे सर्वोच्च अदालतको आदेशमा मापदण्डलाई अति लचकता अपनाइ पुनःविचार गर्न भनेपनि हालसम्म मापदण्ड संशोधन नगरेकाले व्यवहारिक हुनेगरी संशोधन गर्न माग गरे ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले मुलुकमा बहुमतको सरकार हुँदा पनि सरकार निरिह रहेको बताए । उनले वर्तमान सरकार बनेसँगै उत्साहित भएका व्यवसायीहरू निरासामा बाचिरहेको बताए । उनले सरकार गठन भएको चार महिनामा पनि निर्माण तथा क्रसर व्यवसायीहरुले सरकार भएको अनुभुति गर्न नसकेको बताए ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले क्रसर उद्योगमा देखिएका समस्या समाधानमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।उनले नेपालको विकास निर्माणमा अत्यावश्यक वस्तु क्रसर उद्योगबाट राज्यलाई पु¥याउने योगदानहरु महत्वपूर्ण रहेको बताए । उनले नेपालमा क्रसर उत्पादन निर्माण समग्री सम्बन्धि कानून निर्माणमा अहिले सरकारले राज्य व्यवस्था तथा सुशासन समितिमा विधेयक पेश गरेर छलफलको तयारीमा रहेको बताए ।
उनले उक्त विधेयकलाई समितिले कसैको मुख नहेरी आगामी अधिवेशनमा संसदमा लैजाने तयारी गरेको जानकारी दिए । उनले कुनै मन्त्रीहरु आउँदा सनकको भरमा दर्ता भएका वा नभएका तथा एक दिन काम गर्ने र अर्को दिन बन्द गर्ने पद्धतिको अन्त्यका लागि क्रसर सम्बन्धि कानून आवश्यक रहेको बताए ।
महासंघको हालै सम्पन्न महाधिवेशनले अध्यक्षमा न्यौपाने, वरिष्ठ उपाध्यक्षमा चन्द्रमणि अधिकारी, क्षेत्रीय उपाध्यक्षमा कोशी प्रदेशबाट रोहितबहादुर कार्की, मधेशबाट रामनारायणप्रसाद यादव, वागमतीबाट देवराज लुइँटेल, गण्डकीबाट लिलाधर बराल र लुम्बिनीबाट मिनबहादुर शाही निर्वाचित भएका छन् । महासचिवमा देवराज तामाङ चुनिएका छन् ।
प्रतिक्रिया दिनुहोस्