काठमाडाैँ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन् ।
बुधवार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको धेरै कामहरु अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताए ।
उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको उल्लेख गरे । धितोपत्र बोर्डको अध्यक्ष बिहिन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारीमा आफू आएको भन्दै बोर्डमा ठूलो जिम्मेवारी र चुनौतिहरु रहेको उल्लेख गरेका छन् ।
पुँजीबजारमा रहेका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसावले प्राथमिकतामा राखेर पूँजीबजार विकासको काम गर्ने उनकाे भनाइ छ ।
उनले बोर्डमा नेतृत्वको अभावमा अड्किएका कामहरु अगाडि बढाउने बताए । अध्यक्ष श्रेष्ठले पुँजीबजारको भुमिका र दायरा बढाउँदै लैजानुपर्ने उल्लेख गरे।
उनले आफ्नो कार्यकालमा शेयर लगानीकर्ताहरुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । पुँजीबजारले मुलुकको अर्थतन्त्रमा गर्ने योगदान धेरै रहेको भन्दै त्यसको सदुपयोग गर्न कोशिस गर्ने उनले बताए ।
उनले लामो समयदेखि रोकिएको आईपीओ समयमा नै आउने गरी काम गर्ने उल्लेख गरे। आफ्नो यही कार्यकालमा सेबोन आफ्नै भवनमा सर्ने उनकाे दाबी छ ।
पुँजीबजारको विकासमा सबै सरोकारवाला निकायहरुसँगको सहकार्यमा लाग्ने र पुँजीबजारलाई वर्तमान समय सापेक्ष अगाडि बढाउने उल्लेख गरे । अध्यक्ष श्रेष्ठले एभरेष्ट बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिने निर्णय गरे ।
प्रतिक्रिया दिनुहोस्