युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छः सभापति देउवा


काठमाडाैँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्ने बताएका छन् ।

छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विश्वको ६० प्रतिशत जनसंख्या रहेको दक्षिण एशियाका राष्ट्रहरूले युवाहरूलाई उनीहरूको दक्षता अनुसारको व्यवस्थापन गर्नु जरुरी रहेको बताएका हुन् । उनले युवाहरुलाई उत्पादन गर्ने क्षेत्रमा नविन आविष्कारसहितको उद्यमशिलतामा लगाउन नसके विदेशिने क्रम अझै बढ्ने बताए ।

उनले बढ्दो जनसंख्याका लागि आवश्यक पर्ने साधन र स्रोतको अपर्याप्तताका बाबजुत युवाहरुलाई विदेशीनबाट रोकेर उत्पादकत्व क्षेत्रमा लगाउन आवश्यक भएको उल्लेख गरे । प्रजनन स्वास्थ्यमा नेपालले दिगो विकास लक्ष्यलाई प्राप्त गर्न सफल भएको पनि सभापति देउवाले बताए ।

“विश्वको ६० प्रतिशत जनसंख्या रहेको साउथ एशियाका राष्ट्रहरूले युवाहरूलाई उनीहरूको दक्षता अनुसारको व्यवस्थापन गर्नु जरुरी रहेको छ । यदि हामीले युवाहरूलाई उत्पादकत्व क्षेत्रमा नविन आविष्कार सहितको उद्यमशिलतामा लगाउन सकेनाैँ भने अवसरको खोजीमा विदेशीने खतरा रहेकाले हाम्रा योजना र प्राथमिकता त्यसतर्फ केन्द्रित हुनु जरुरी छ । बढ्दो जनसंख्याका लागि आवश्यक पर्ने साधन र स्रोतको अपर्याप्तताका बाबजुत हामीले हाम्रा युवाहरूलाई विदेशीनबाट रोकेर उत्पादकत्व क्षेत्रमा लगाउनु नै महत्वपूर्ण छ,”उनले भने ।

सभापति देउवाले जलवायुजन्य असरले पार्ने प्रभाव र दक्ष जनशक्ति प्रयोगका सम्बन्धमा सम्मेलनले मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरे ।