आउँदो शुक्रवारदेखि रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ , एउटै मञ्चबाट गायन, नृत्य र अभिनयका प्रतिभा छानिदै


काठमाडौं । आउँदो शुक्रवार (भदौ ११) बाट गायन, नृत्य र अभिनयका प्रतिभा छान्ने रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ प्रशारणमा आउने भएको छ । तीन विधाका प्रस्तुति एउटै मञ्चबाट हुन लागेको कार्यक्रम नेपालमै पहिलो रहेको आयोजकको भनाइ छ ।

‘ट्यालेन्ट हन्ट’ भारतीय संगीत क्षेत्रमा स्थापित टि सिरिज स्टेज वर्क गुहावटी र टि सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा शो हुन लागेको आयोजक संस्था काइजेन इंक प्रालिले जनाएको छ । डिजिटल पेमेन्ट कम्पनी डिजी पे मुख्य प्रयोजक रहेको छ ।

कार्यक्रमको प्रशारण नाइस टेलिभिजन एचडीबाट सुक्रबार अर्थात् भदौ ११ गतेदेखि प्रत्येक शुक्रबार र शनिबार राति ८ः४५ बजे नाइस टेलिभिजनमा प्रशारण हुनेछ । सेमिफाइनल र ग्रान्ड फिनाले शनिवार मात्र प्रशारण गरिने कार्यक्रम तय भएको छ ।

प्रतियोगितामा तीनवटै विधाका विजेतालाई भारतस्थित टि सिरिज स्टेज वर्क गुहावटीमा अध्ययन गर्न काइजेन इन्कका तर्फबाट १० लाख रुपैयाँ बराबरको छात्रवृृत्ति प्रदान गरिने भएको छ ।

प्रमुख विजेताले सत प्रतिशत, उप विजेताले ७५ प्रतिशत र तेस्रो स्थान हासिल गर्नेले पनि संगीत, नृत्य वा अभिनय प्रशिक्षणमा ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् । विजेता तथा प्रतिस्पर्धीका लागि उपाधिसँगै प्रायोजकहरूबाट आकर्षक उपहारहरुको व्यवस्था गरिएको जनाइएको छ ।

प्रतियोगिताको छनोट चरणका आठ, सेमिफाइनलका दुई र ग्रान्ड फिनाले (अन्तिम चरण) मा एकसहित ११ शृंखलामा पूरा हुने रियालिटी शोमा विजेताको छनोट निर्णायकको अंक, डिजिटल भोटिङ र सामाजिक संजाल प्वाइन्टका आधारमा गरिनेछ ।

प्रतियोगितामा नेपाली र भारतीय चलचित्र तथा संगीत उद्योगका चर्चित सेलिब्रेटीलाई निर्णायक राखिएका छन् । प्रत्येक शृंखलामा तीनवटै विधाका दुई–दुई अलग निर्णायक रहनेछन् ।

डिजी पेका प्रबन्ध निर्देशक दिवाकर पाण्डेले आफूमा लुकेको प्रतिभालाई बाहिर ल्याउन ट्यालेन्ट हन्ट शो बलियो आधार हुने बताए । टि सिरिज जस्तो भारतकै ठूलामध्येमा पर्ने मनोरञ्जन कम्पनीको सहयकार्यमा हुन गइरहेको यो प्रतियोगिता गायन, नृत्य र अभिनय क्षमता भएर पनि बाहिर आउन नसकेका प्रतिभाहरूका लागि उत्कृष्ट ‘प्लेटफर्म’ हुने पाण्डेको भनाइ छ ।

“ट्यालेन्ट हन्टमा विजेताहरूले भारतीय चलचित्र उद्योग बलिउडमा समेत प्रवेश पाउने सम्भावना उच्च छ किनभने यसको नारा नै ‘टिकेट टु बलिउड’ रहेको छ,” पाण्डेले भने, “प्रतिभावान नेपालीले आफ्नो प्रतिभा देखाउन यतिको राम्रो ठाउँ पाउनु र यस्तो स्तरीय कार्यक्रममा प्रयोजन गरी सहभागी हुन पाउँदा हामी औधी खुसी छौं ।”

प्रतियोगिता सबै डिजिटल (अनलाइन) माध्यमबाट हुनेछ । प्रतियोगीले आफ्ना प्रतिभाको भिडियो आफैं तयार गरेर पठाउनु पर्नेछ भने निर्णायकले पनि अनलाइनबाटै मूल्यांकन गरी विजेता छनोट गर्नेछन् । कोरोना भाइरस महामारीका बेला स्वास्थ्य मापदण्ड पनि पालना हुने र प्रविधिको प्रयोगलाई प्रोत्साहन मिल्ने पाण्डेले बताए ।

काइजेन इन्कका कार्यकारी अधिकृत सुष्मा मानन्धरले कार्यक्रमपछि आफ्नो प्रतिभा थप निखाने अवसरका रुपमा लिन आव्हान गरिन् । “आफूभित्र रहेको गायन, अभिनय र नृत्य प्रतिभालाई लुकाएर नबस्नुस्, हामीसँग जोडिनुहोस्,” मानन्धरले भनिन्, “भोली तपाईंका लागि बलिउडको ढोका नखुल्ला भन्न सकिन्न । मिहिनेत गरौं, परिश्रमको फल अवश्य पाइनेछ ।”

अनलाइन अडिसनबाट छनोट भएका १ सय २० प्रतीस्पर्धीबीच तीन चरणबाट खारिएका प्रतिभाले ग्रान्ड फिनालेमा आफ्नो प्रस्तुति देखाउने छन् ।

प्रत्येक राउन्डमा तीन विधा हुने र हरेक राउन्डमा विभिन्न सेलेब्रिटी जजहरूले प्रतिस्पर्धीको मूल्यांकन गर्नेछन् । प्रत्येक विधामा १४ विशिष्ट सेलेब्रिटी जजहरूले प्रतिस्र्धीको मूल्यांकन गर्नेछन् । जजहरूको समूहलाई ‘टिम अफ मेगा जजेज’ नाम दिइएको छ ।

विशिष्ट सेलेब्रिटी जजहरूलाई यो प्रतियोगितामा संलग्न गराउन पाउँदा भिन्नैखालको सम्मान र गौरव महसुस भएको आयोजकको भनाइ छ ।