रास्वपाद्वारा सामाजिक सञ्जाल बन्द निर्णयको विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग


काठमाडाैँ । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएको छ।

पार्टीको केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सो निर्णयले अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सञ्चार अधिकार र सूचना प्रवाहमा गम्भीर अवरोध पुगेको आरोप लगाएको हो।

“सामाजिक सञ्जाल आजको डिजिटल युगमा केवल मनोरञ्जन वा व्यक्तिगत प्रयोगका लागि मात्र नभई, विचार–अभिव्यक्ति, व्यवसाय, शिक्षा, अनुसन्धान र सूचना आदान–प्रदानको प्रमुख माध्यम बनेको छ। यसलाई एकैपटक बन्द गर्ने निर्णय जनताको मौलिक अधिकारमाथि प्रत्यक्ष प्रहार हो,”विज्ञप्तिमा भनिएको छ ।

रास्वपाले नेपालको संविधानको धारा १७ ले प्रत्याभूत गरेको विचार र अभिव्यक्ति स्वतन्त्रता तथा धारा १९ ले सुनिश्चित गरेको सूचना तथा सञ्चारको हक खोस्ने सरकारको कदम लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थाविपरीत रहेको दाबी गरेको छ।

“लोकतन्त्रमा समस्या समाधान गर्ने बाटो नियमन, पारदर्शिता र कानुनी प्रक्रिया हो। सम्पूर्ण सञ्चार माध्यम बन्द गर्नु नागरिक अधिकारको प्रत्यक्ष उल्लङ्घन हो,”विज्ञप्तिमा भनिएको छ ।

रास्वपाले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन, दुरुपयोग रोक्न नीति–आधारित, प्राविधिक र कानुनी उपाय अवलम्बन गर्न र भविष्यमा नागरिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदम नदोहोरिने प्रतिबद्धता जनाउन सरकारसँग माग गरेको छ।

पार्टीले नागरिक अधिकार, डिजिटल स्वतन्त्रता र जिम्मेवार सञ्चार प्रयोगको पक्षमा आफू सदैव दृढ रहने स्पष्ट गर्दै सरकारका यस्ता प्रयासप्रति निरन्तर प्रतिवाद गरिरहने चेतावनी दिएको छ।