आपूर्ति शृंखला खल्बलिन नदिन निकासी–पैठारी संघको आग्रह


काठमाडाैँ । युवा पुस्ताले सुशासन, वाक् स्वतन्त्रता र भ्रष्टाचार नियन्त्रणको मागसहित गरेको आन्दोलनमा भएको जनधनको क्षतिप्रति नेपाल समुद्रपार निकासी पैठारी संघले दुःख व्यक्त गरेको छ। संघले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

संघका अनुसार आन्दोलनकै क्रममा उद्योग, व्यवसाय, प्रतिष्ठान र तिनका कार्यालय एवं निवास तोडफोड र आगजनीको लक्ष्य बनेपछि उद्यमी व्यवसायी अभूतपूर्व रुपमा त्रासमा परेका छन्। यस्ता घटनाले स्वदेशी तथा विदेशी लगानी प्रभावित हुने र दीर्घकालीन रूपमा समृद्धिको यात्रामा अवरोध पुर्‍याउने संघको ठहर छ।

महासचिव जयन्त कुमार अग्रवालले जारी गरेको विज्ञप्तिमा अहिलेको जटिल अवस्थामा अत्यावश्यक वस्तुको आपूर्ति शृंखला खल्बलिन नदिन व्यवसायीले जिम्मेवारीपूर्वक अघि बढ्नुपर्नेमा जोड दिइएको छ। साथै, आपूर्ति सहज बनाउन सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्न आग्रह गरिएको छ।

संघले सरकारी निकाय र कार्यालयहरू तत्काल काममा फर्किनुपर्ने अपेक्षा राख्दै शान्ति–सुरक्षाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएको छ। संघका अनुसार व्यावसायिक र व्यक्तिगत सम्पत्तिको सुरक्षा सुनिश्चित भएमा मात्र सुशासन, बेथितिको अन्त्य र समृद्धि हासिल गर्न सकिन्छ।

संघले निषेधाज्ञा वा कफ्र्युका बेलामा औषधि, खाद्यान्न, दूध, पानी, फलफूल, तरकारी, पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको ओसारपसार सहज बनाउन पनि आग्रह गरेको छ। साथै, आयात–निर्यात सहज बनाउन भन्सार र नाकाहरू नियमित सञ्चालनमा ल्याउन सरकारसँग अपिल गरिएको छ।

महासचिव अग्रवालले भने, “अर्थतन्त्रको चालक शक्ति निजी क्षेत्र भयरहित वातावरणमा निर्धक्कसँग सञ्चालन हुन सकेन भने थप समस्या आउने निश्चित छ। त्यसैले सर्वप्रथम पेसा–व्यवसाय निर्वाध सञ्चालन हुने वातावरण तयार गर्नुपर्छ।”

संघले राजनीतिक स्थिरता कायम गर्न, सुशासन प्रवद्र्धन गर्न, स्वतन्त्र पेशा व्यवसाय गर्ने अधिकार सुनिश्चित गर्न, लगानी र रोजगारीका लागि अनुकूल वातावरण बनाउन सम्बन्धित सबै पक्षलाई ध्यान दिन आग्रह गरेको छ।