देशका लागि भत्किएका संरचना पुनः सञ्चालनमा ल्याउन ‘घर निर्माण फाउण्डेसन’को अभियान


काठमाडाैँ । हालैको जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न सरकारी भवनमा भएको क्षतिले राष्ट्रकै सेवामुखी संरचना संकटमा पारेको छ।

अस्पताल, प्रहरी चौकी, सरकारी कार्यालयलगायतका भवनहरू भौतिक क्षति भएपछि जनजीवन प्रभावित भएको छ। यदि ती संरचनाहरू चाँडै पुनः सञ्चालनमा ल्याइएन भने अत्यावश्यक सेवामै अवरोध हुने अवस्था देखिएको छ।

यस्तै अवस्थामा ‘घर निर्माण फाउण्डेसन’ले राष्ट्रका लागि हात अघि बढाउने घोषणा गरेको छ। फाउण्डेसनले स्किल सेवा प्रा.लिसँग सहकार्यमा क्षतिग्रस्त भवनहरूको मर्मत तथा पुनर्निर्माण गर्ने विशेष अभियान सुरू गर्न लागेको हो। “देशका लागि भत्किएका संरचना पुनः सञ्चालनमा ल्याउन हामी तयार छौं,” फाउण्डेशनले सार्वजनिक अपिलमा भनेकाे छ ।

निर्देशक महेश तिमिल्सिना, सताक्षी मिश्र र प्रशान्त प्रधानको नेतृत्वमा अघि बढ्ने यो परियोजना केवल मर्मत कार्यमा सीमित नभई राष्ट्र पुनःनिर्माणको अभियानका रूपमा अघि बढाइने फाउण्डेशनले स्पष्ट पारेको छ। उनीहरूको अनुसार अस्पताल, प्रहरी चौकी, सरकारी कार्यालय र अन्य सार्वजनिक सेवामा प्रयोग हुने भवनहरूलाई शीघ्र सञ्चालनमा ल्याउन उपलब्ध सम्पूर्ण सीप र जनशक्ति प्रयोग गरिनेछ।

“हामीसँग विद्युत् मर्मत, प्लम्बिङ, सुरक्षा प्रणाली, ढोका–झ्याल, फर्निचरदेखि सम्पूर्ण संरचनागत नवीकरणसम्म गर्न सक्ने दक्ष जनशक्ति छ,” निर्देशकहरूले संयुक्त रूपमा बताएका छन्,“हाम्रो उद्देश्य देशलाई सेवा दिन हाम्रो अनुभव र जनशक्ति प्रयोग गर्नु हो।”

यस अभियानमार्फत छिटो मूल्यांकन, मर्मत र नवीकरणको काम अगाडि बढाइने र जनताको स्वास्थ्य, सुरक्षा तथा प्रशासनिक सेवामा अवरोध नआओस् भन्ने उद्देश्य राखिएको छ।

घर निर्माण फाउण्डेशनले यस अभियानलाई राष्ट्रप्रति समर्पित सेवा भन्दै सबै जिम्मेवार निकायलाई हातेमालो गर्न आह्वान गरेको छ