मनकामना केबलकारका प्रबन्ध निर्देशक श्रेष्ठले भनेःप्रदेश सरकार खारेज गरेर स्थानीय तहलाई थप अधिकार दिनुपर्छ


काठमाडाैँ । मनकामना केबलकारका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले नेपाली जनतालाई सशक्त बनाउन संविधान संशोधन आवश्यक भएको बताएका छन्। उनका अनुसार हालको लोकतान्त्रिक संरचना कायम राख्दै आवश्यक सुधार गर्ने र पारदर्शिता, जवाफदेहिता तथा संस्थागत नियन्त्रण सुनिश्चित गर्ने काम हुनुपर्छ।

श्रेष्ठले प्रदेश सरकार खर्चिलो र अक्षम भएको बताउँदै त्यसलाई खारेज गरी निर्वाचित स्थानीय तहलाई थप अधिकार दिनुपर्ने बताएका छन्। साथै स्थानीय निकायको पुनर्संरचना गर्दै तिनको संख्या घटाइ अधिकारक्षेत्र र सेवा क्षेत्र बढाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

प्रधानमन्त्री वा कार्यकारी प्रमुखको प्रत्यक्ष जननिर्वाचनमार्फत चयन हुनु पर्ने र कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था राख्नुपर्ने उनले बताए। सांसदको नेतृत्व सक्षम बनाउन न्यूनतम शैक्षिक योग्यता र अधिकतम उमेर ६५ तोक्नु आवश्यक रहेको पनि उनले बताए।

श्रेष्ठले सबै तहमा राजनीतिक नियुक्ति हटाएर योग्य र अनुभवी व्यक्तिलाई योग्य स्थानमा योग्य व्यक्तिको आधारमा नियुक्त गर्नुपर्ने बताए। विद्यार्थी संघ, शिक्षक संघ, पेशागत संस्था र श्रमिक यूनियनजस्ता सामाजिक संघ/संगठनहरू राजनीतिक प्रभाव रहित हुनुपर्ने आवश्यकता उनले औँल्याए।

उनले प्रभावकारी प्रशासनका लागि आधुनिक कार्यविधि लागू गर्नुपर्ने, सरुवा, बढुवा र कर्मचारी तथा सुरक्षा निकायको जवाफदेहिता सुनिश्चित गर्नुपर्ने, भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउनुपर्ने, दोषी प्रमाणित भएमा कडा सजाय दिने र सम्पत्ति राष्ट्रियकरण गर्ने व्यवस्था गर्नुपर्ने बताए।

नागरिकले सरकारी निकायबाट निष्पक्ष, समयमा र सत्य सूचना पाउने अधिकार पाउने र निर्वाचित जनप्रतिनिधिले काम नगरे वा जनविश्वास तोडेमा नागरिकले फिर्ता बोलाउन सक्ने अधिकार सुनिश्चित गर्नुपर्ने उनले स्पष्ट पारे।

श्रेष्ठका अनुसार यी सुधारहरू संविधानमा समावेश भए जनताको अधिकार र सहभागिता सुनिश्चित हुने र प्रभावकारी शासन प्रणाली निर्माणमा सहयोग पुग्नेछ।