काठमाडौँमा विद्यालय सञ्चालन सामान्य बनाउने तयारी, शिक्षक-कर्मचारी भोलि उपस्थित हुने, विद्यार्थी भदौ ३० देखि फर्किने


काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले विद्यालय सञ्चालन सम्बन्धी जानकारी सार्वजनिक गरेको छ। हालैको परिस्थितिका कारण प्रभावित भएको अध्ययन–अध्यापनलाई क्रमशः सामान्य बनाउन महानगरले विद्यालयहरूलाई आवश्यक निर्देशन दिएको हो।

महानगरले अनुसार भाेलि (आइतबार) देखि सबै शिक्षक तथा कर्मचारी विद्यालयमा उपस्थित हुनुपर्ने छ। तर उक्त दिन विद्यार्थीलाई विद्यालयमा नबोलाइने स्पष्ट पारिएकाे छ। शिक्षक तथा कर्मचारीहरूले विद्यालयमा उपस्थित भई प्रशासनिक कार्य, सरसफाइ गर्ने, विद्यालयमा भएको क्षति विवरण महानगरमा बुझाउने तथा विद्यार्थी अभिभावकसँग सम्पर्क गरेर अवस्थाबारे जानकारी लिने कार्यमा संलग्न हुने भनिएको छ।

यस्तै, अभिभावकले आफ्ना सन्तानलाई ल्याउने–लैजाने जिम्मा लिने अवस्था बनेमा र परिस्थिति पनि सामान्य देखिएमा भदौ ३० गते सोमबारदेखि विद्यार्थीलाई विद्यालयमा बोलाई मनोसामाजिक परामर्शसहित अध्ययन–अध्यापन सुरू गरिने महानगरले जनाएको छ।

विद्यालयमा अभिभावकसँग आउन–जान नसक्ने विद्यार्थीलाई भने भर्चुअल क्लासमार्फत अध्ययनमा सहजीकरण गर्ने व्यवस्था मिलाइनेछ।