भारत बस्ने नेपालीले २ लाख भारुसम्म रेमिट्यान्स पठाउन पाउने


काठमाडौं । भारतमा कार्यरत नेपालीहरू अब वार्षिक २ लाख भारुसम्म रेमिट्यान्स नेपाल पठाउन पाउने भएका छन्  । भारतीय केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इन्डियाले हालै भारतमा कार्यरत नेपालीले नेपालमा पठाउन पाउने रेमिट्यान्सको सीमा हालको ५० हजारबाट वृद्धि गरि २ लाख भारु पुर्‍याएको हो ।

नयाँ गरिएको व्यवस्थाअनुसार अब भारतमा कार्यरत नेपालीले जतिबेला पनि बिनाकुनै सीमा रेमिट्यान्स पठाउन पाउने छन् । यसअघि वार्षिक १२ कारोबारबाट मात्र गर्न पाउने व्यवस्था थियो ।

विश्व बैंकको सबैभन्दा पछिल्लो द्विपक्षीय रेमिट्यान्स प्रवाहसम्बन्धी डेटाबेस-२०१८ का अनुसार भारतबाट नेपालमा वार्षिक १ खर्ब २ अर्ब रुपैयाँ (१ अर्ब २ करोड १० लाख अमेरिकी डलर) रेमिट‍यान्स आउने गरेको छ भने नेपालबाट भारततर्फ वार्षिक ३ खर्ब १ अर्ब रुपैयाँ (३ अर्ब १ करोड ६० लाख अमेरिकी डलर) बराबरको रेमिट्यान्स जाने गरेको छ ।

भारतमा हाल करिब १० लाख नेपालीहरू कार्यरत रहेको अनुमान छ ।