काठमाडौँ । देशभर अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपदले जनधनमा ठूलो क्षति पुर्याइरहेको अवस्थामा निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन(प्याब्सन) ले अभिभावक, शिक्षक र स्थानीय नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्याब्सन केन्द्रीय विपद व्यवस्थापन विभागका संयोजक रविन्स शर्माले जारी गरेको विज्ञप्तिमा बालबालिकाको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने स्पष्ट पार्दै अभिभावक र शिक्षकलाई बालबालिकालाई घरमै सुरक्षित राख्न, खोला, नदी, पहिरो वा पोखरीजस्ता जोखिमयुक्त स्थानमा नजान कडाइका साथ निर्देशन दिन आग्रह गरेका छन्।
शर्माले भने, “बालबालिकाको सुरक्षा हाम्रो पहिलो जिम्मेवारी हो। विपदको समयमा उनीहरूलाई हेरचाह बिना बाहिर जान नदिनुहोस् र आफ्नै निगरानीमा राख्नुहोस्। यो समय सहयोग, संवेदना र मानवीयतालाई व्यवहारमा उतार्ने उपयुक्त घडी हो।”
उनले प्रभावित क्षेत्रका परिवारलाई सहयोग गर्न प्याब्सनका विद्यालय सञ्चालक, संस्थापक र प्रिन्सिपलहरूले सेना, प्रहरी, सशस्त्र, रेडक्रस, राजनीतिक दलका प्रतिनिधि र सामाजिक संस्थाहरूसँग समन्वय गर्दै उद्धार र राहत कार्यमा सक्रिय हुनुपर्ने बताएका छन्।
साथै, प्याब्सनले प्रदेश तथा स्थानीय तहका इकाइहरूलाई जोखिमग्रस्त विद्यार्थी र अभिभावकलाई आवश्यक सहयोग, राहत र मनोबल प्रदान गर्न निर्देशन दिएको छ।
कुनै विद्यालय, छात्रावास वा शैक्षिक भवन जोखिमपूर्ण अवस्थामा परेमा तुरुन्तै गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा जानकारी गराउन समेत प्याब्सनले आग्रह गरेको छ।
प्याब्सनले विपदको समयमा बालबालिकासँगै सम्पूर्ण समुदायको सुरक्षा सुनिश्चित गर्न आपसी सहयोग र एकताको भावना जगाउन सबै पक्षलाई आह्वान गरेको छ।



प्रतिक्रिया दिनुहोस्