स्थानीय तह र सरकारले पनि कामको अवसर सिर्जना नगरी लाइसेन मात्रै वितरण गरे: अध्यक्ष सिंह


काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रलाई समाप्त गर्ने दिशातिर सरकार जान नहुने बताएका छन्।

बिहीवार महासंघ परिसरमा महासंघका पूर्वअध्यक्ष स्व. शरदकुमार गौचनको आठौं स्मृति दिवसमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले रुग्ण आयोजना अन्त्य गर्ने भन्दै गर्दा वर्तमान सरकार निर्माण क्षेत्रलाई नै समाप्त गर्ने दिशातिर लाग्न नहुने बताए । रुग्ण आयोजना खारेज गर्दा सार्वजनिक खरिद ऐनमा व्यवस्था भएअनुसार गरिनुपर्ने धारण राखेका थिए ।

जेन जी पुस्ताबाट भएको आन्दोलनबाट सडकबाट सरकार पाएको उल्लेख गर्दै अध्यक्ष सिंहले अहिले मुलुकको आर्थिक गतिविधिमा शिथिलता आएको बताए । मुलुकको आर्थिक अवस्था नाजुक भएकाले निर्माण क्षेत्र सबैभन्दा प्रभावित बनेको उनको भनाइ थियो। अहिले पनि निर्माण क्षेत्रमा कामको अभाव भइरहेको र आवश्यकता भन्दा बढी स्थानीय तहले निर्माण व्यवसायीहरुलाई लाइसेन वितरण गर्ने र सरकारले पनि कामको अवसर सिर्जना नगरी लाइसेन मात्रै वितरण गरिरहेको बताए ।

अन्तरिम सरकारले मुलुकमा निर्वाचन गराउने मात्र नभइ जेन जीहरुको पवित्र उद्देश्यअनुरुप मुलुकमा भइरहेको भ्रष्टाचार बेथितिको अन्त्यका लागि पनि गम्भीर हुनुपर्ने भनाइ राखेका थिए ।

“यो नयाँ सरकार जसको जगमा बनेको हो, यसले मुलुकमा निर्वाचन मात्र गराउने होइन, जेन जीहरुको पवित्र उद्देश्य मुलुकमा भइरहेको भ्रष्टाचार बेथितिको अन्त्यका लागि पनि यो सरकार त्यत्तिकै गम्भीर हुनुपर्छ,” उनले भने, “अहिले पनि निर्माण क्षेत्रमा कामको अभाव र आवश्यकता भन्दा बढी स्थानीय तहले निर्माण व्यवसायीहरुलाई लाइसेन्स वितरण गर्ने र सरकारले पनि कामको अवसर सिर्जना नगरी लाइसेन मात्रै वितरण गरेको छ ।”

उनले कुनैपनि निर्माण कार्यको स्टिमेट गर्दा वास्तविक हुनुपर्ने र सकेसम्म कामहरु साना प्याकेजहरु बनाएर बढी भन्दा बढी निर्माण व्यवसायीहरुलाई सहभागिता जनाउने र स्वस्थ प्रतिष्पर्धाको वातावरण बनाउनसके निर्माणको गति अघि बढ्नसक्ने बताए ।