काठमाडाैँ । बागमती प्रदेश सरकारको सहकारी तथा गरिबी निवारण मन्त्रालयले आफ्नो अभिलेख आगजनी र तोडफोडका कारण नष्ट भएको भन्दै नियमन क्षेत्रभित्रका सबै सहकारी संघ तथा संस्थालाई विवरण पुनः पेश गर्न अनुरोध गरेको छ ।
मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै गत भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङस्थित मन्त्रालयमा भएको तोडफोड र आगजनीका कारण सहकारी सम्बन्धी फाइल र दस्तावेज जलेर नष्ट भएकाले अभिलेख पुनः सङ्ग्रह गर्नुपर्ने अवस्था आएको जनाएको छ ।
मन्त्रालयका अनुसार नष्ट भएका अभिलेखका कारण सहकारी संघ/संस्थाहरूको वार्षिक साधारण सभा तथा अन्य विवरणहरू अद्यावधिक गर्नुपर्ने भएकाले सबै संस्थालाई आवश्यक प्रमाणित कागजातहरू पेश गर्न निर्देशन दिइएको हो । यसका लागि हेटौंडा उपमहानगरपालिका–२ मा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरभित्र रहेको सहकारी तथा गरिबी निवारण महाशाखामा प्रत्यक्ष उपस्थित भएर विवरण बुझाउन मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयले सहकारी संस्थाहरूले आ.व. २०८१/८२ को साधारण सभाको उपस्थिति तथा निर्णयको प्रमाणित प्रतिलिपि, सञ्चालक समितिका सदस्यहरूको फोटो, हस्ताक्षर, नागरिकता प्रमाणपत्रसहितको तीन पुस्ते विवरण, संस्थाको दर्ता प्रमाणपत्र, स्वीकृत विनियम, अघिल्ला दुई आर्थिक वर्षका लेखा परीक्षण प्रतिवेदन र कर चुक्ता प्रमाणपत्र लगायतका आवश्यक कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाएको छ ।
त्यसैगरी, सहकारी संस्थाले कोपोमिस प्रणालीमा अद्यावधिक विवरण पेश गरेको प्रमाणसहित मन्त्रालयको वेबसाइट https://mocpa.bagamati.gov.np/ मार्फत “हाम्रो सेवा” अन्तर्गतको “सहकारी अद्यावधिक विवरण ENTRY २०८१–८२” फारम अनिवार्य रूपमा भर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, वेबसाइटको “डाउनलोड” मेनुमा उपलब्ध ‘सहकारी वार्षिक विवरण अद्यावधिक गर्दा आवश्यक कागजातहरू–२०८२’ शीर्षकको फारम डाउनलोड गरी भरेर प्रमाणित प्रतिलिपीसहित बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
मन्त्रालयले सबै सहकारी संघ/संस्थाको अद्यावधिक विवरण नियमित रूपमा वेबसाइटमार्फत प्रकाशन गरिने जनाउँदै, रजिष्ट्रार कार्यालय वा मन्त्रालयबाट माग भएमा अन्य आवश्यक विवरण पनि तुरुन्त पेश गर्न अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्