काठमाडाैँ । नेपालीहरुको दोस्रो ठूलो पर्व अर्थात फूलहरुको पर्व तिहार नजिकिँदै गएको छ । तिहारमा मखमली, सयपत्री, गोदावरी फूलको माला अधिक प्रयोग हुने गर्दछ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुका अधिकांश किसान यतिबेला मखमलीको फूल टिपेर माला उन्नमा व्यस्त देखिन्छन् ।
तिहारमा मखमली फूलको मालाको अधिक प्रयोग र माग हुने गरेको छ । तर मागअनुसार फूल उत्पादन किसानले भने उचित मूल्य पाउन सकेका छैनन् । गुण्डुका अधिकांश किसानले मखमली फूलको खेती गरेका छन् ।
किसान शहदेव बस्नेतले पछिल्लो वर्षमा परिश्रमअनुसार मालामा उचित मूल्य नपाएको गुनासो गरे । पछिल्लो तीन/चार वर्षदेखि मालाको मूल्य क्रमशः ओरालो लागेको उनले बताए । उनकाअनुसार १० वर्ष अगाडीसम्म मालाको मूल्य प्रतिगोटा ३३ रुपैयाँसम्म थियो । तर हाल प्रतिगोटा १८ रुपैयाँदेखि २३ रुपैयाँसम्ममा माला विक्री हुने गरेको उनले बताए ।
किसान गंगा थापाको गुनासो पनि बस्नेतको जस्तै छ । उनले पनि दुःख गरेअनुसार मालाको मूल्य पाउन नसकेको बताइन् । २० वर्षदेखि मखमलीको खेती गर्दै आएकी थापाले मालामा खासै नाफा कमाउन नसकेको उल्लेख गरिन् । उनले मालाको मूल्य निर्धारण गर्न सरकारसँग माग पनि गरिन् ।
सरकारले दशैँमा खसी बोकाको भाउ निर्धारण गरेजस्तै तिहारमा मालाको भाउ पनि निर्धारण गर्नुपर्ने उनकाे माग छ । उनले यहाँका किसानकाे मागअनुसार फूलको उत्पादन गरेको पनि दाबी गरिन् । मखमली फूलको बीउमा समेत समस्या रहेको उनकाे भनाइ छ । किराले काट्ने, धेरै पानी परेमा नउम्रिने, कुहिने लगायतको समस्या हुने उनको भनाइ छ ।
किसान निर्मला बस्नेतले गतवर्षको भन्दा यस वर्ष मालाको माग धेरै रहेको बताइन् । माला लिनको लागि व्यापारीहरु घरमा नै आउने उनको भनाइ छ । उनले यसवर्ष १ हजार २ सय वटा माला बेचिसकेको जानकारी दिइन् । उनले गतसाल दुई हजार माला बेचेकी थिइन् ।
राधा थापा र अनिता बस्नेतले मालाको निश्चित मूल्य निर्धारण गर्नपर्नेमा जोड दिएका छन् । मालाको निर्धारित मूल्यदर नहुँदा विचौलियाहरुलाई मात्रै फाइदा भएको उनीहरूको गुनासो छ ।
फूल उत्पादक किसानले सरकारले बजार अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनीहरूले विचौलियाका कारण किसानले उचित मूल्य नपाउने र उपभोक्ताहरु मंहगोमा पर्ने समस्या खडा भएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्