काठमाडौँ । चालु आर्थिक वर्ष (२०८२/८३)को कार्तिक मसान्तसम्म काठमाडौँ महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
गत वर्ष साे अवधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ सङ्कलन भएको थियो। यस हिसाबले महानगरले यस वर्ष ५ करोड ६५ लाख १० हजार ४९२ रुपैयाँ बढी राजस्व उठाउन सफल भएको छ।
गत वर्ष १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ राजस्व लक्ष्य राखिएको थियो भने यस वर्ष १५ अरब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सङ्कलन हुने अनुमान गरिएको छ।
आन्तरिक राजस्वतर्फ भने यो वर्ष केही कमी देखिएको छ। चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म १ अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७ सय रुपैयाँ सङ्कलन भएको छ, जुन गत वर्षको सोही अवधिको १ अर्ब ९९ करोड २ लाख ६७ हजार ६९५ रुपैयाँभन्दा २ करोड २० लाख ९१ हजार ९९५ रुपैयाँ कम हो।
आन्तरिक राजस्व घट्नुको मुख्य कारण सम्पत्ति करमा आएको कमी रहेको महानगरका राजस्व विभाग प्रमुख दीपक अधिकारी बताउँछन् ।
उनका अनुसार गत वर्ष सम्पत्ति कर सम्बन्धित मालपोत कार्यालयले तोकेको दरअनुसार उठाउने निर्णय भएपछि ठूला भवनधनीले तिर्ने कर बढेको थियो भने साना घरधनीको कर घटेको थियो।
करदाताबाट आएको गुनासोपछि २०८१ असोजमा बसेको कार्यपालिका बैठकले पुरानै दरमा सम्पत्ति कर उठाउने निर्णय गरेकाले यो वर्ष कर समायोजन गर्दा सम्पत्ति कर घटेको हो।
यसैबिच वहाल कर भने उल्लेखनीय रुपमा बढेको छ। गत वर्ष ९४ करोड ८५ लाख २८ हजार १५४ रुपैयाँ संकलन भएको यो कर शीर्षकमा यस वर्ष १ अर्ब २ करोड ९२ लाख ९७ हजार ५७० रुपैयाँ उठेको छ। २०८२ जेठ २० गते सर्वोच्च अदालतको संवैधानिक इजलासले बहाल कर स्थानीय तहको अधिकार क्षेत्र भएको ठहर गरेपछि संघ सरकारका आन्तरिक राजस्व कार्यालयबाट सङ्कलन हुँदै आएको कर अब महानगरमै जम्मा हुन थालेको अधिकारी बताउँछन् ।
व्यवसाय कर पनि यो वर्ष बढेको छ। गत वर्ष २२ करोड ८७ लाख ८ हजार ७०८ रुपैयाँ सङ्कलन भएकोमा चालु वर्ष २३ करोड ३२ लाख ३६ हजार १७० रुपैयाँ उठेको छ।
तर भवन नक्सा पास शुल्कको राजस्व भने घटेको छ। गत वर्ष १२ करोड ६ लाख ६६ हजार ६४९ रुपैयाँ सङ्कलन भएको यो शीर्षक यस वर्ष ८ करोड ८८ लाख ६ हजार ८८१ रुपैयाँमा झरेको छ। सहरमा भवन निर्माणको दर कम हुँदै गएसँगै यस शीर्षकको राजस्व पनि घटेको महानगरले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्