होटल-रेस्टुरेन्टले एमआरपी भन्दा बढीमा बोतलकाे पानी बेचे कारबाही गर्ने विभागको चेतावनी


काठमाडाैँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिलबन्दी खानेपानी बोतलमा तोकिएको बढी मूल्य असुल्न नपाइने स्पष्ट गर्दै व्यवसायीलाई एमआरपी अनुसार मात्रै बिक्री गर्न चेतावनी दिएको छ।

हाल होटल, रेस्टुरेन्टलगायत स्थानमा उत्पादन कम्पनीले तोकेको अधिकतम खुद्रा मूल्य भन्दा बढी रकम लिइएको भन्ने उपभोक्ताबाट व्यापक गुनासो आएपछि विभागले प्रेस विज्ञप्ति जारी गरि सबै व्यवसायीलाई नियम पालना गर्न आग्रह गरेको हो।

विभागका अनुसार मेनुमा उल्लेखित सेवा वा वस्तु उपलब्ध गराइसकेपछि उपभोक्ताको टेबलमा राखिने सिलबन्दी बोतलका नाममा अतिरिक्त शुल्क लिने प्रवृत्ति देखिएको र जुन उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ विपरीत हुने चेतावनी दिइएको छ।

विज्ञप्तिमा उपभोक्ताले उजुरी दर्ता गराएमा नियमअनुसार जरिवाना र क्षतिपूर्ति समेत हुने भएकाले तोकिएको एमआरपी भन्दा बढी रकम नलिन व्यवसायीलाई आग्रह गरिएको छ। साथै, विपरीत कार्य भए उजुरी वा प्रमाणसहितको दाबी उत्पन्न भए कारबाही हुने विभागले स्पष्ट गरेको छ।