सरकारी नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता दिन सरकार प्रतिबद्ध : प्रधानमन्त्री कार्की


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी सेवामा नियुक्ति र बढुवामा महिलालाई प्राथमिकता दिने सरकारी प्रतिबद्धता स्पष्ट पार्दै लैंगिक समानताबिना सुशासन सम्भव नहुने बताएकी छन्।

काठमाडौंमा आयोजित एक समारोहमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान उद्घाटन गर्दै उनले राज्य संयन्त्रमा महिलाको उपस्थिति बढाउन आफू निरन्तर सक्रिय रहेको जिकिर गरिन्।

समारोहमा बोल्दै प्रधानमन्त्री कार्कीले सबै प्रकारका नियुक्ति तथा बढुवामा “महिला कहाँ छन्रु” भन्ने प्रश्न आफैंले पहिलोमा हेर्ने गरेको उल्लेख गरिन्। उनले भनिन्, “सरकारी नियुक्ति र बढुवामा महिलालाई प्राथमिकताका साथ नहेर्ने हो भने आफूमाथि नै प्रश्न चिन्ह लाग्छ। जहाँ महिलाको उपयुक्तता छ, त्यहाँ नियुक्ति र अग्रता दिन मैले सकेसम्म प्रयास गरेकी छु।”

प्रधानमन्त्री कार्कीका अनुसार आफू सरकारको नेतृत्वमा आएका करिब दुई महिनामा नै महिलालाई अघि बढाउने निर्णयहरूलाई प्रश्रय दिइएको छ। तर, पुरुषले पनि लामो समय मेहनत गरी हासिल गरेको स्थानलाई अन्याय नभएको स्पष्ट पार्दै उनले योग्यता र उपयुक्तता दुवैलाई सन्तुलनमा राखेर निर्णय गर्ने बताए।

महिलामाथि हुने हिंसा मानसिक चोट र दीर्घकालीन मनोवैज्ञानिक समस्यासँग जोडिन सक्ने उल्लेख गर्दै उनले पारिवारिक हिंसा, दुरव्यवहार र निरन्तर प्रताडनले महिलालाई डिप्रेशनमा धकेल्ने र यस्तो दबाबले चरम परिणाम निम्त्याउन सक्ने बताइन् ।

“मानिसलाई सताउँदै लग्यो भने एक दिन प्रतिकृया आउँछ। यो हाम्रो समाजमा धेरै देखिन्छ। यसको अन्त्य आवश्यक छ” प्रधानमन्त्री कार्कीले भनिन् ।

प्रधानमन्त्री कार्कीले लैंगिक हिंसाको अन्त्यका लागि गरिबी निवारण, शिक्षा, चेतना विस्तार र रोजगारी सिर्जनालाई दीर्घकालीन समाधानको आधार बताए।

विदेशमा रोजगारी खोज्दै गएकी महिलाहरू प्रताडनको शिकार हुने घटना बढ्दै गएको उल्लेख गर्दै, “जेन–जी आन्दोलनले उठाएको मुद्दा यही हो,रोजगारी अभाव, विदेशिन बाध्यता र त्यसले ल्याएको हिंसा,” कार्कीले भनिन्।

उनका अनुसार भ्रष्टाचारको अन्त्य र सुशासन सुनिश्चित गरिनु नै रोजगारी विस्तारको मूल सूत्र हो, जसले महिलालाई आर्थिक रूपमा सबल बनाउँदै हिंसाबाट मुक्त समाज निर्माण गर्न मद्दत गर्छ।

उनले आगामी दिनमा पनि महिला नेतृत्व, सहभागिता र अवसर विस्तारमा सरकार प्रतिबद्ध रहने बताइन्। प्रधानमन्त्री कार्कीले भनिन्, “यदि हामीले अहिले महिलालाई प्रोत्साहन गरिएन भने कठिन हुन्छ। जहाँ महिलाको उपदेयता छ, त्यहाँ उनीहरूलाई अग्रणी भूमिकामा ल्याउन सरकार निरन्तर प्रयास गर्छ।”

समारोहमा उनले लैंगिक हिंसा अन्त्यका लागि राज्य, समाज र परिवार सबै तहबाट संयुक्त रूपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याइन्।