काठमाडाैँ । स्याङ्जाका विभिन्न स्थानबाट अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन तथा ओसार–पसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ६ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी दहथुमबाट खटिएको टोलीले मंसिर २५ गते बिहान उक्त कार्यमा संलग्न ट्याक्टरहरू नदी तथा खोल्साबाट बालुवा र ढुङ्गा लोड गरी लैजान लागेको अवस्थामा फेला पारेको हो।
प्रहरीका अनुसार पुतलीबजार नगरपालिका–१३ र ऐरावती गाउँपालिकाको वडा–१० जोड्ने झोलुङ्गे पुल नजिकै आँधिखोला क्षेत्रमा दुईवटा ट्याक्टर बालुवा तथा ढुङ्गासहित भेटिएका छन्। दुबै ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा राखी जनही रु २० हजार जरिवाना गरिएको जनाएको छ।
यस्तै भीरकोट नगरपालिका–४, छ्याङ्घाङ्दी क्षेत्रमा पनि चारवटा ट्याक्टर नियन्त्रणमा लिइएका छन्। तीमध्ये दुईवटामा जनही रु १० हजार जरिवाना गरिएको छ भने ग.१ त. ५९७५ र लु.३ त. ९३८२ नम्बरका ट्याक्टरका बारेमा आवश्यक अनुसन्धान प्रक्रियामा रहेको प्रहरी चौकी दहथुमले जनाएको छ।
नियन्त्रणमा लिइएको सबै ट्याक्टर पुतलीबजार र भीरकोट नगरपालिकाको सम्बन्धित कार्यालयमा आवश्यक कारबाहीका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस्