चोरी भएका ६० ओटा दुई पाङ्ग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण


काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ६० ओटा दुई पाङ्ग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले खोजतलासपछि ३४ ओटा मोटरसाइकल र २६ ओटा स्कुटर आज शुक्रबार धनीलाई जिम्मा लगाएको हो।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रूपमा सवारी साधन हस्तान्तरण गरेका हुन्।

ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही सवारी साधन वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखिएको अवस्थामा फेला परेका थिए।

काडाँघारी, पुल्चोक, स्वयम्भू, दरबारमार्ग, चापागाउँ, नेपालटार, टोखा, नयाँबसपार्क, बालकुमारी, भाटभटेनी, भक्तपुर, लोकन्थली, नाला, बनेपा, बसन्तपुर, किर्तिपुर, ताथली, बौद्ध, सिनामंगल, थानकोट, सोह्रखुट्टे, कपन, सुडाल र जरङ्खु लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले बरामद गरेको हो।

आज हस्तान्तरण गरिएका ६० ओटा सहित चालु साउनयता ट्राफिक प्रहरीले कुल १८१ ओटा दुई पाङ्ग्रे सवारी साधन धनीलाई जिम्मा लगाइसकेको छ। यस क्रममा चोरीमा संलग्न २५ जना व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ।

साथै चोरी भएका १३ ओटा सवारी साधन पनि बरामद गरिएको छ।सवारी साधन फिर्ता पाएपछि सवारी धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन्। ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ४१७ ओटा र आर्थिक वर्ष ०८१/०८२ मा ५०३ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी धनीलाई जिम्मा लगाइसकिएको छ।