काठमाडाैँ । नेपाल आएका विदेशी पर्वतारोही तथा ट्रेकरहरूलाई लक्षित गरी नक्कली उद्धारको नाममा करोडौँ रुपैयाँ ठगी गर्ने संगठित गिरोहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले सार्वजनिक गरेको छ ।
आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोजकुमार केसीले साढे दुई महिनासम्म चलेको गहिरो अनुसन्धानपछि तीनवटा निजी कम्पनीसँग आबद्ध ६ जनालाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ पर्नेहरूमा नेपाल चार्टर सर्भिस प्रालिका अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया, माउन्टेन रेस्क्यू सर्भिस प्रालिका अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टेन्स प्रालिका प्रबन्ध निर्देशक मुक्ति पाण्डे तथा सञ्चालक सुभाष केसी रहेका छन् ।
सीआइबीको अनुसन्धानअनुसार उच्च हिमाली क्षेत्रमा सामान्य टाउको दुखाइ, थकानजस्ता समस्यालाई गम्भीर रोग ‘एक्युट माउन्टेन सिकनेस’ भएको भन्दै पर्यटकलाई डर देखाइ हेलिकप्टरमार्फत उद्धार गराउने गरिएको थियो ।
त्यसपछि नक्कली उपचार विवरण, झूट्टा बिल र कागजात तयार गरी अन्तर्राष्ट्रिय बिमा कम्पनीबाट ठूलो रकम असुल्ने गरिएको खुलेको छ ।
अनुसन्धानमा एउटै उडानलाई विभिन्न बिमामा देखाएर बहुविध दाबी गर्ने, सामान्य चार्टर उडानलाई रेस्क्यूको रूपमा प्रस्तुत गर्ने, निजी अस्पतालसँग मिलेर फर्जी उपचार बिल बनाउने तथा बिचौलियामार्फत कमिसन बाँडफाँड गर्ने जस्ता गम्भीर गतिविधि भएको पुष्टि भएको सीआईबीले जनाएको छ ।
सीआइबीका अनुसार माउन्टेन रेस्क्यू सर्भिस प्रालिले उद्धार गरेका भनिएका १ हजार २४८ जनामध्ये १७१ जनाको उद्धार फेक रहेको पाइएको छ । यस कम्पनीले मात्र १ करोड ३ लाख १० हजार अमेरिकी डलर बराबरको बिमा दाबी गरेको देखिएको छ ।
त्यसैगरी नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जनाको उद्धारमध्ये ७५ जनालाई फर्जी उद्धारमार्फत उठाएको भन्दै ८२ लाख अमेरिकी डलर दाबी गरेको छ ।
एभरेस्ट एक्स्पेरेन्स एन्ड एसिस्टेन्स प्रालिले ६०१ उद्धारमध्ये ७१ जनाको उद्धार शंकास्पद रहेको पाइएको छ र यसबाट ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरिएको छ ।
यी सबै फेक रेस्क्यूबाट करिब २ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रकम ठगी भएको प्रारम्भिक अनुमान गरिएको छ । यसअघि विदेशी सञ्चारमाध्यमले नेपालमा हुने करिब ३५ प्रतिशत उद्धार फेक हुनसक्ने उल्लेख गरेका थिए भने २०८२ असोजयता यस्ता उजुरी थपिँदै गएका छन् । सन् २०१८ मै यस्तै प्रकृतिको प्रतिवेदन आए पनि प्रभावकारी कारबाही हुन नसकेको प्रहरीको भनाइ छ ।
डा. केसीले राष्ट्रहितविरुद्धको संगठित अपराधमा संलग्न रहेको अभियोगमा पक्राउ परेकामाथि मुद्दा चलाइने बताए ।उनले यस प्रकरणमा संलग्न अन्य व्यक्ति तथा संस्थाको समेत खोजी भइरहेको र प्रमाण फेला परेपछि थप पक्राउ गरिने स्पष्ट पारे।
सीआइबीले छुट्टै कार्यदल गठन गरी अनुसन्धान अघि बढाएको छ भने पर्यटन मन्त्रालयले पनि यस विषयमा छानबिन समिति बनाइसकेको छ । उजुरी आउने क्रम अझै जारी रहेकाले अनुसन्धानलाई उच्च प्राथमिकतामा राखिएको सीआइबीको भनाइ छ ।
प्रहरीका अनुसार यो घटनाले नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय छविमा गम्भीर असर पार्न सक्ने भएकाले निष्पक्ष र कडाइका साथ अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्