काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपालको निजी क्षेत्र, गैरआवासीय नेपाली तथा अन्तर्राष्ट्रिय समुदायलाई निर्धक्क भएर नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।
नयाँ दल र नयाँ अनुहारहरू सत्ता र शक्तिमा आउँदा अर्थतन्त्र तथा लगानीको वातावरणमा कुनै नकारात्मक प्रभाव नपर्ने बताउँदै उनले सबै सरोकारवालालाई आश्वस्त पारे । मुलुकको आर्थिक समृद्धिलाई आफ्नो पार्टीको प्रमुख एजेण्डा बनाइएको उल्लेख गर्दै लामिछानेले निजी क्षेत्रलाई विचलित नहुन आग्रह गरेका हुन् ।
देश निर्माणको अभियानमा विदेशमा रहेका नेपालीहरूको पुँजी र सीप अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले डायस्पोरालाई नेपालमै फर्किएर लगानी तथा उद्यममा संलग्न हुन अपिल गरे। साथै, अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई लक्षित गर्दै नेपाल लगानीका लागि सुरक्षित गन्तव्य रहेको दाबी गरे।
उनले भने, “तपाईंहरूले निर्धक्कसँग काम गर्न सक्ने वातावरण हामी बनाउँछौँ। तपाईं र तपाईंको लगानी यो देशमा सुरक्षित हुनेछ, निर्धक्क हुनुहोस्। कुनै पनि अमुक नेता वा पार्टीको संरक्षण आवश्यक पर्दैन, देशको नीतिले नै तपाईंको लगानीको संरक्षण गर्नेछ।”
उद्योग–व्यवसाय विस्तार, रोजगारी सिर्जना र सुशासनमा नयाँ मापदण्ड स्थापित गर्दै आर्थिक समृद्धिको बाटोमा निरन्तर अघि बढ्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्