काठमाडौँ । पाकिस्तानमा जारी अमेरिका र इरानबिचको वार्ता सकारात्मक रूपमा अगाडि बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
वार्ता दोस्रो दिन पनि जारी रहने भएको छ । पहिलो दिनलाई दुबै पक्षले ऐतिहासिक दिन भनेका छन् ।
इरानी स्रोतहरूका अनुसार १४ घन्टासम्म चलेको संवादपछि दुवै पक्ष अहिले विज्ञ–स्तरमा पाठ्य मस्यौदाहरू आदान–प्रदान गरिरहेका अलजजिराले जनाएको छ । दुईदेशबिच वार्ता र छलफलका लागि वृहत रूपरेखा पहिले नै सहमत भइसकेको र अब त्यसलाई अगाडि बढाउने विस्तृत पक्षहरूमा विज्ञहरूले काम गरिरहेको हुनसक्ने समाचारमा उल्लेख छ ।
इरानी पक्षले आफ्ना रोक्किएका सम्पत्ति फुकुवा गर्नुपर्ने मागलाई निरन्तर जोड दिएको छ।
वार्ताकक्षभित्र भइरहेको गतिविधिबारे अत्यन्तै सीमित जानकारी मात्र सार्वजनिक भएको छ।
स्रोतहरूकाअनुसार उतार–चढावयुक्त भए पनि समग्र वातावरण ‘सकारात्मक’ रहेको देखिएको अलजजिराले उल्लेख गरेको छ ।
अमेरिका र इजरायलले इरानमाथि आक्रमण पछि युद्ध समाप्त गर्न सन् १९७९ को इस्लामिक क्रान्तिपछि वासिङ्टन र तेहरानबिच भएको यो पहिलो प्रत्यक्ष वार्ता समेत हो ।
इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ताले पाकिस्तानको राजधानी इस्लामाबादमा अमेरिकासँग चलिरहेको वार्ताका बारेमा विज्ञप्ति जारी गरेका छन् ।
“इस्लामाबादमा आज इस्लामिक गणतन्त्र इरानको प्रतिनिधिमण्डलका लागि व्यस्त र लामो दिन रह्यो,” इस्माइल बाघेईले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
उनका अनुसार, “शनिबार बिहानदेखि पाकिस्तानको सद्भावनापूर्ण प्रयास र मध्यस्थतामा सुरु भएका गहन वार्ताहरू अहिलेसम्म कुनै अवरोध बिना जारी रहेका छन् र दुवै पक्षबिच थुप्रै सन्देशहरू तथा मस्यौदाहरू आदान–प्रदान गरिएको छ ।”


प्रतिक्रिया दिनुहोस्