काठमाडौँ । अमेरिका र इरानबिच पाकिस्तानमा भएको वार्तामा कुनै सहमति नभएको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन्।
भान्सले आफू ‘सद्भावनाका साथ’ वार्तामा सहभागी भएको उल्लेख गरे पनि, इरानले आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाउनुपर्ने अमेरिकाको धारणा रहेको बताएकाे बिबिसीले उल्लेख गरेकाे छ ।
इरानको परराष्ट्र मन्त्रालयले यी वार्ताहरूलाई गहन भनेको छ र वासिङ्टनलाई अत्यधिक माग र गैरकानुनी अनुरोधहरूबाट टाढा रहन आह्वान गरेको छ ।
वार्ताकैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता हुन्छ वा हुँदैन भन्ने कुरा आफूलाई कुनै फरक नपर्ने बताएका छन् । उनले भनेका छन्, “जे भए पनि, हामी जित्छौँ।”
कुनै सम्झौताको नजिक नपुगेको देखिए पनि वार्तामा एउटा समझदारीको खाका भने प्रस्तुत भएको छ । उपराष्ट्रपति जेडी भान्सको भनाइअनुसार केही कुरा सम्भावनामा छन्, र उनले यसलाई अमेरिकाको तर्फबाट “सबैभन्दा राम्रो र अन्तिम प्रस्ताव” भनेका छन्।
वार्ताको सकारात्मक पक्ष के हो भने वार्ता पूर्णरूपमा भङ्ग भएको छैन तर नकारात्मक पक्ष के हो भने कुनै ठोस समझदारी भएको छैन । करिब पाँच चरणका वार्ता भएका छन् र प्रत्येक चरणपछि दुवै पक्षबीच नोटहरू आदान–प्रदान भएका थिए । यसले कुनै न कुनै रूपमा एक वृहत् रूपरेखा कायम रहेको सङ्केत गर्छ ।
वार्तामा आणविक कार्यक्रम, क्षेत्रीय प्रभाव र आर्थिक विषयहरू लगायत धेरै मुद्दामा छलफल भएको थियो इरानले अमेरिकासँग रोकिएका आफ्ना सम्पत्तिहरू फुकुवा गरिनुपर्ने माग पनि राखेको छ । अलजजिराकाअनुसार केही हदसम्म प्रगति भने भएको छ । यदि वार्ता पूर्णतः असफल हुने अवस्था आएको भए, त्यो धेरै पहिल्यै देखिन्थ्यो।
केही स्रोतहरूलाई उल्लेख गर्दै अलजजिराले भनेअनुसार यस्तो सङ्केत पनि आएको छ कि इजरायलसँग यस्तो समझदारी भएको हुन सक्छ जसअनुसार उसले राजधानी बेरुतमा बमबारी नगर्ने तर दक्षिणी क्षेत्रमा आफ्नो कारबाही जारी राख्नेछ ।


प्रतिक्रिया दिनुहोस्