हर्मुज जलमार्ग बन्द गर्ने अमेरिकाको घोषणासँगै अन्तराष्ट्रिय बजारमा तेलको भाउ फेरि बढ्यो


काठमाडौँ । अमेरिकाले हर्मुज जलमार्गमा नाकाबन्दी गर्ने घोषणा गर्दै तेलको मूल्य फेरि बढेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग नाकाबन्दी गर्ने घोषणा गरेसँगै तेलको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलर नाघेको छ ।

राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकाले होर्मुज जलडमरुमा प्रवेश गर्न वा त्यहाँबाट बाहिर निस्कने कुनै पनि र सबै जहाजहरूलाई नाकाबन्दी गर्ने घोषणा गरेका छन् । यसले तेल आपूर्तिमा थप अवरोध ल्याउने खतरा बढाएको छ।

अन्तर्राष्ट्रिय मापदण्ड मानिने ब्रेन्ट क्रुडको मूल्य करिब ८% ले बढेर लगभग १०२ डलर पुगेको छ । अमेरिकी क्रुडको मूल्य पनि ८% ले बढेर १०४ डलर पुगेको छ।

“हामी इरानलाई उसले मन पराउने देशहरूलाई मात्र तेल बेचेर र मन नपराउनेलाई नबेचेर पैसा कमाउन दिनेवाला छैनौँ । यो या त सबैका लागि हुन्छ, या कसैका लागि हुँदैन,” ट्रम्पले फक्स न्युजसँग भनेका छन् ।

ट्रम्पको यो योजनाले अमेरिकी उपभोक्तालाई नै महँगो पर्न सक्ने जोखिम रहेको सिएनएनले जनाएको छ ।

यदि तेलको मूल्य अझ बढ्यो भने पेट्रोलको मूल्य उच्च नै रहनेछ । आइतबार अमेरिकामा एक ग्यालोन पेट्रोलको औसत मूल्य ४.१२ डलर थियो, जुन युद्ध सुरु हुँदादेखि ३८% ले बढेको हो । यद्यपी यो हप्ता केही घटेको छ ।

अमेरिका र इरानबिच पाकिस्तानको इस्लामाबदमा भएको वार्तामा सहमति नभएपछि अमेरिकाले हर्मुज जलमार्गमा नकाबान्दीको घोषणा गरेको हो ।

इरानको मुख्य नियन्त्रणमा रहेको हर्र्मुजबाट विश्वभर जाने तेल २० प्रतिशत यहीबाट पार हुन्छ । पछिल्लो समय इरानले आफूसँग मित्रवत व्यहार गर्ने मुलुकका लागि मात्रै तेल बोकेका जहाज पार हुन दिएको छ ।