काठमाडाैँ । अमेरिकी सिनेटले केभिन वार्सलाई ‘फेडरल रिजर्भ सिस्टम’ को बोर्ड अफ गभर्नर्सको नयाँ अध्यक्षका रूपमा अनुमोदन गरेको छ ।
बुधबार भएको मतदानमा ५४–४५ को मतान्तरले ५६ वर्षीय वार्सको मनोनयनलाई स्वीकृत गरिएको हो । बढ्दो मुद्रास्फीति र भूराजनीतिक अस्थिरताका बिच उनले अब अमेरिकी केन्द्रिय बैंकको नेतृत्व सम्हाल्नेछन् ।
रिपब्लिकन बहुमत रहेको सिनेटले यसअघि मंगलवार नै वार्सलाई फेडरल रिजर्भको सात सदस्यीय बोर्ड अफ गभर्नर्सको १४ वर्षे कार्यकालका लागि अनुमोदन गरेको थियो । ह्वाइट हाउसबाट अन्तिम हस्ताक्षर भएपछि उहाँको औपचारिक शपथ ग्रहण गर्नेछन् ।
वार्सले वर्तमान अध्यक्ष जेरोम पावेलको स्थान लिनेछन् । जसको अध्यक्षका रूपमा कार्यकाल यसै शुक्रबार समाप्त हुँदैछ । नेतृत्वबाट हटे पनि पावेल फेडरल रिजर्भ बोर्डको गभर्नरका रूपमा भने कायमै रहनेछन् ।
केन्द्रीय बैंकले बढ्दो मूल्यवृद्धिको दबाब झेलिरहेको समयमा यो नेतृत्व परिवर्तन भएको हो । सन् १९७० मा जन्मेका वार्स कानुन व्यवसायी तथा वित्तविज्ञ हुन् । उनले यसअघि सन् २००६ देखि २०११ सम्म फेडरल रिजर्भको गभर्नरका रूपमा काम गरिसकेका छन् । उक्त समयमा उनले विश्वव्यापी आर्थिक संकटको व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
नवनियुक्त अध्यक्ष वार्सको नेतृत्वमा पहिलो नीति निर्धारण बैठक आगामी जुन १६–१७ मा बस्ने अपेक्षा गरिएको छ । राष्ट्रिय आर्थिक परिषद्का निर्देशक केभिन ह्यासेटले फक्स न्युजसँगको कुराकानीमा वार्सको आगमनले बजारलाई राहत दिने र समयक्रममा ब्याजदर घटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
वार्सलाई एक अत्यन्त बुद्धिमान र सक्षम व्यक्तिका रूपमा चित्रण गर्दै उनले आफ्ना सहकर्मीहरूलाई सहमत गराउन सक्ने क्षमता राख्ने बताए । वार्सले पछिल्लो समय अमेरिकी अर्थ मन्त्रालयसँगको समन्वयलाई थप सुदृढ बनाउने र फेडको ‘ब्यालेन्स शीट’ मा कटौती गर्ने जस्ता सुधारका योजनाहरू अघि सारेका छन् । उनको पुनरागमनसँगै केन्द्रीय बैंकको राजनीतिक स्वतन्त्रताका विषयमा पनि चर्चा शुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस्