काभ्रेको नालामा स्वच्छ दुध उत्पादन सम्बन्धी अभिमुखीकरण तालिम


काठमाडौँ । विश्व दुध दिवस-२०८३ को अवसरमा नेपाल डेरी एसोसिएसनले काभ्रेको नालामा स्वच्छ दुध उत्पादन सम्बन्धि अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । साताव्यापी कार्यक्रमअन्तर्गत तेस्रो दिन काभ्रेपलाञ्चोकको नालामा ‘स्वच्छ दूध उत्पादन’ सम्बन्धी एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरिएको एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।

नाला नेपालमा पहिलो डेरी स्थापना भएको ऐतिहासिक स्थल हो ।

कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डको तर्फबाट स्वच्छ दूध उत्पादन सम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो । कर्मा ग्रुपका प्रतिनिधि डा. योगेन्द्र राणाले झिँगा तथा किरा फट्याङ्ग्रा नियन्त्रण गर्ने औषधी ‘डेरी कमान्डर’ को प्रयोग र त्यसले दूध उत्पादनमा पार्ने प्रभावबारे प्रस्तुति दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका बोर्ड सदस्य तथा नेपाल डेरी एसोसिएसनका संस्थापक सदस्य राजनप्रसाद दाहाल, बोर्ड सदस्य रामभक्त दाहाल, बनेपा नगरपालिका पशु सेवा शाखा प्रमुख चिरञ्जीवी शर्मा, नेपाल डेरी एसोसिएसनका वरिष्ठ उपाध्यक्ष दीपप्रसाद धमला, केन्द्रीय सदस्य नवराज तिमल्सिना, नुवाकोट अध्यक्ष दीपक ढुङ्गाना, राष्ट्रिय दुग्ध विकास बोर्डकी प्रशिक्षक नमुना खतिवडा, कर्मा ग्रुपका प्रतिनिधि डा. योगेन्द्र राणा, वडा सदस्यहरू, दुग्ध सङ्कलक तथा स्थानीय दुग्ध उत्पादक किसानहरूको उपस्थिति रहेको थियो ।

नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्लाद दाहालले नेपालमा दुग्ध क्षेत्रले उत्पादन, उपभोग तथा ग्रामीण रोजगारीमा पु¥याएको योगदानको चर्चा गर्दै स्वच्छ दूध उत्पादनमा विशेष ध्यान दिन सके मात्र गुणस्तरीय दूध उत्पादन सम्भव हुने बताए ।

उनले देशभर अनिवार्य रूपमा दुई समयमै दुध अनिवार्य संकलन गर्नुपर्ने आवश्यकता समेत औँल्याए ।

वडाध्यक्ष रमेश दाहालले विश्व दूध दिवस जुन १ मा विश्वका धेरै देशमा मनाइने गरिएको जानकारी दिँदै यसको मुख्य उद्देश्य दूध तथा दुग्ध पदार्थको महत्वबारे जनचेतना फैलाउनु र उपभोग वृद्धि गर्नु रहेको बताए ।