काठमाडौं । चाडपर्वका बेला वस्तु आपूर्ति सहज बनाउने उद्देश्यले नेपाल–चीन व्यापारिक नाका तातोपानी आजदेखि तीन दिनका लागि खुलेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कात्तिक १ (आज) देखि ३ गतेसम्म मालवाहक सवारीसाधनलाई नाकाबाट आवतजावत गर्न अनुमति दिइनेछ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहका अनुसार नेपाली पक्षको आग्रहपछि चिनियाँ पक्ष नाका अस्थायी रूपमा सञ्चालन गर्न सहमत भएको हो।
नाका खुल्दा चाडपर्वका लागि आवश्यक सामान आयात गर्न व्यवसायीलाई सहज हुने अपेक्षा गरिएको छ। यद्यपि, नाकाबाट कति मालवाहक सवारीसाधन आवतजावत गर्ने र कति परिमाणमा सामान भित्रिने भन्ने विवरण सार्वजनिक भएको छैन।
तीन दिनका लागि मात्रै खुल्ने भएकाले यस निर्णयलाई नाकाको नियमित सञ्चालनका रूपमा बुझ्न नहुने मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्