काठमाडाैँ । अहिले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण राजधानीमा चलिरहेको छ । एनपीएल जारी रहँदा यसको प्रत्यक्ष लाभ पर्यटन क्षेत्रले समेत लिइरहेको छ ।
एनपिएल अन्तर्गतका खेल खेल्न विभिन्न देशका दर्जनाैँ खेलाडीरू नेपालमा आएका छन्, उनीहरुको बसाइँ ठूलाठूला होटलमा भइरहेको छ । यसले होटल पर्यटन क्षेत्रलाई माथि उठाउन सघाउ पुगेको होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाह बताउँछन् ।
शाहकाअनुसार एनपिएलले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकारात्मक भुमिका खेलेको छ । प्रतियोगितामा सहभागी आठवटै फ्रेन्चाइज टिम ठूला होटलसँग आवद्ध हुनु र खेलाडी, प्रशिक्षक तथा अन्य सदस्यले लामो समयसम्म होटलमा सेवा लिनुले आतिथ्य उद्योगमा प्रत्यक्ष प्रभाव पारेको छ ।
एनपीएलमा सहभागी सुदूरपश्चिम, विराटनगर, लुम्बिनी र चितवनलगायतका फ्रेन्चाइज टिमका समर्थकहरू आफ्ना टिमको खेल हेर्न विभिन्न ठाउँबाट आएर होटलमै बसिरहेका छन् ।
यसले होटल तथा आवास, खानपान र यातायातलगायतका क्षेत्रमा आर्थिक गतिविधि बढाउन सहयोग पु¥याएको शाहको भनाइ छ । प्रतियोगिताका क्रममा स्वदेशी तथा विदेशी खेलाडी र प्रशिक्षकले महिनादिनसम्म होटलमा सेवा लिने भएकाले होटल व्यवसायलाई समेत लाभ पुगेको उनले बताए ।
शाहले एनपिएललाई केवल क्रिकेट प्रतियोगिताका रूपमा मात्र नहेरी पर्यटन प्रवद्र्धनको माध्यमका रूपमा विकास गर्नुपर्नेमा बताए । नेपालमा खेलिने प्रतियोगितालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पु¥याउन सके दक्षिण एशियाका क्रिकेटप्रेमीलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न सकिने उनको भनाइ छ ।
उनकाअनुसार अब एनपीएललाई आधार बनाएर स्पोट्र्स टुरिजमलाई योजनाबद्ध रुपमा अघि बढाउनुपर्छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) बाट एनपिएलले मान्यता पाउनु पनि नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने अवसर हो ।
यसलाई उपयोग गर्दै विदेशी खेलाडी तथा टिमको सहभागिता बढाउन र नेपालमा थप अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सके खेलकुद पर्यटनको दायरा विस्तार गर्न सकिन्छ ।
विशेषगरी दक्षिण एसियाका ठूला क्रिकेट राष्ट्रका फ्रेन्चाइज टिमलाई नेपालमा ल्याएर खेलाउने सम्भावनामा ध्यान दिनुपर्ने शाहको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिसँगै नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने सम्भावना बढेको उल्लेख गर्दै उनले यसलाई पर्यटनसँग जोडेर अगाडि बढाउनुपर्ने बताए ।
स्पोर्ट्स टुरिजम प्रवद्र्धनका लागि विभिन्न क्षेत्रबिच सहकार्य भइरहेको भएपनि त्यसलाई ठोस योजना र व्यवस्थित कार्यक्रममार्फत अगाडि बढाउन आवश्यक रहेको उनको भनाइ छ । उनका अनुसार नेपाल प्रिमियर लिग (एनपीएल) र क्रिकेटलाई आधार बनाएर स्पोट्र्स टुरिजम प्रवद्र्धन गर्नुपर्छ ।
अध्यक्ष शाहले अहिले नेपालमा पर्यटक भित्राउन अनुकूल मौसम रहेको पनि बताए । उनका अनुसार दसैँ सकिएर तिहार नजिकिएको यस समयमा विदेशी पर्यटकको रुचि विशेषगरी पदयात्रा तथा शाहसिक पर्यटनमा रहने गरेको छ ।
मौसम अनुकूल भएकाले यस अवधिमा धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न सकिन्छ । तर रसुवा र भोटेकोशी क्षेत्रमा बाढीका कारण उत्पन्न परिस्थितिले पर्यटक आगमनमा केही असर पारेको छ ।
उक्त घटनापछि नेपाल भ्रमण गर्न सुरक्षित छ कि छैन भन्ने विषयमा विदेशी पर्यटकले बढी सोधपुछ गरिरहेका छन् । मौसमसम्बन्धी अनिश्चितताले पनि पर्यटकको निर्णयमा प्रभाव पार्न सक्ने भएकाले नेपालका पर्यटन गन्तव्यको अवस्था, सुरक्षा र उपलब्ध सेवाबारे अन्तर्राष्ट्रिय बजारमा स्पष्ट सूचना प्रवाह गर्नुपर्ने उनको बुझाइ छ ।
उनकाअनुसार कुनै एउटा क्षेत्रमा समस्या देखिँदैमा समग्र नेपालकै पर्यटन प्रभावित हुने गरी सन्देश जान नदिन सरकारी निकायले समन्वय गर्न आवश्यक रहेको शाहले बताए ।
शाहकाअनुसार नेपालमा पर्यटनको सम्भावना र सेवा दिनसक्ने क्षमता बढे पनि अपेक्षाअनुसार पर्यटक भित्राउन सकिएको छैन । यसको मुख्य कारण अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटीको सिमितता हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले करिव एक महिनाअघि उडान शुरु गरेको बताउँदै उनले अन्य अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सके पर्यटक आगमन बढाउन सहयोग पुग्ने बताए ।
उनकाअनुसार अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुन नसक्दा नेपालले पर्यटनको सम्भावनाअनुसार लाभ लिन सकेको छैन । नेपालका होटलहरूले वार्षिक ३५ देखि ४० लाखसम्म पर्यटकलाई सेवा दिनसक्ने क्षमता बनाइसकेको छन् ।
तर नेपाल आउने पर्यटकको संख्या भने वार्षिक ११ देखि १२ लाखको हाराहारीमा रहेको छ । होटल तथा पर्यटन क्षेत्रमा भएको लगानीको प्रतिफल प्राप्त गर्न पर्यटकको संख्या बढाउनु आवश्यक रहेको उनको भनाइ छ ।
त्यसका लागि अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन गन्तव्यको प्रभावकारी प्रचारप्रसार र अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितालाई पर्यटनसँग जोड्ने रणनीति एकसाथ अघि बढाउनुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्