मिडियामाथि प्रहरीको धरपकड : कार्यालयहरूमा प्रहरी परिचालन,तीन पत्रकार पक्राउ



काठमाडौँ । प्रहरीले शुक्रबार काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालय पुगेर पत्रकारहरूमाथि धरपकड गरेको छ भने अहिलेसम्म तीनजनालाई पक्राउ गरेको छ ।

अहिलेसम्म नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका प्रधान–सम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधान–सम्पादक शोभराज बराललाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रहरीले दियोपोस्ट डटकमका प्रधान–सम्पादक सुदीप विश्वकर्मा र सम्पादक रिता बुढाथोकी तथा नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीको खोजी गरिरहेको छ । तीनैजनालाई पक्राउ गर्न सम्बन्धित मिडियाका कार्यालयमा प्रहरी परिचालन गरिएको छ ।

प्रहरीले कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको हो ।

नेपाल प्रेस डटकमको बानेश्वरस्थित कार्यालयबाट पत्रकार सुवेदीलाई पक्राउ गरिएको हो भने पत्रकार बराललाई पनि बिजुलीबजार कार्यालयबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । डिएनए खबरका पत्रकार बस्नेतलाई प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा राखिएको छ ।