काठमाडाैँ । दक्षिण कोरियाले नेपालको पूर्वाधार विकासमा प्रविधि, प्राविधिक ज्ञान र लगानीमार्फत दीर्घकालीन साझेदारी गर्न तयार रहेको जनाएको छ ।
बुधबार काठमाडौं–तराई–मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ब्रेकथ्रु कार्यक्रममा बोल्दै नेपालका लागि दक्षिण कोरियाली राजदुत जे क्युङ पार्कले नेपालको विकास प्राथमिकतामा भरपर्दो साझेदारका रूपमा सहयोग गर्न कोरिया इच्छुक रहेको बताएका हुन् ।
उनले पूर्वाधार विकास आर्थिक वृद्धि, राष्ट्रिय सम्पर्क विस्तार र नागरिकको जीवनस्तर सुधारको महत्वपूर्ण आधार भएको उल्लेख गरे । दक्षिण कोरियाले सडक, एक्सप्रेसवे, पुल तथा सुरुङ निर्माणमा हासिल गरेको अनुभव र प्राविधिक विशेषज्ञता नेपालसँग साझा गर्न चाहेको उनको भनाइ छ ।
राजदूत पार्कले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग निर्माणमा कोरियाली कम्पनी युसिन इन्जिनियरिङ कर्पोरेसनले समग्र डिजाइन तथा सुपरिवेक्षणको काम गरिरहेको जानकारी दिए।
चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले महादेवटार सुरुङ निर्माण गरिरहेको उल्लेख गर्दै उनले दुवै देशका कम्पनीले आ–आफ्नो प्राविधिक दक्षतामार्फत आयोजनामा योगदान पु¥याइरहेको बताए ।
उनले नेपालको राष्ट्रिय गौरवको आयोजना अघि बढाउने सरकारको प्रतिवद्धताको प्रशंसा गर्दै यसको सफल कार्यान्वयनमा नेपाली सेनाको भुमिका महत्वपूर्ण रहेको बताए ।
दक्षिण कोरियाको विकास अनुभव प्रस्तुत गर्दै राजदुत पार्कले सन् १९६० को दशकको अन्त्यतिर सोल र बुसान जोड्ने ग्योङ्बु एक्सप्रेसवे निर्माणमा कोरियाली सेनाले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे । नेपालको द्रुतमार्ग निर्माणमा नेपाली सेनाले गरिरहेको योगदानसँग उक्त अनुभव समान रहेको उनले बताए ।
उनले द्रुतमार्ग आयोजना सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना दिँदै नेपालसँग पूर्वाधार विकासका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्