काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणबारे भारतको विदेश मन्त्रालयले औपचारिक धारणा सार्वजनिक गरेको छ ।
भारतको विदेश मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भारतले आफ्नो ‘नेबरहुड फस्र्ट’ नीतिअन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको आगामी नोभेम्बर २२–२३ मा हुने भारत भ्रमणलाई दुई देशबीचको आर्थिक र विकास साझेदारीलाई थप सुदृढ गर्ने अवसरका रूपमा लिएको उल्लेख छ ।
विज्ञप्तिमा प्रधानमन्त्री शाहको भ्रमणले द्विपक्षीय साझेदारीलाई अझ मजबुत बनाउने र पारस्परिक लाभका नयाँ सहकार्यका क्षेत्रलाई अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच हुने वार्तामा व्यापार तथा वाणिज्य, ऊर्जा, जलस्रोत, भौतिक तथा डिजिटल कनेक्टिभिटी, विकास साझेदारीलगायतका विषयमा छलफल हुने भारतीय पक्षले जनाएको छ । भारतले दुई देशबिचको सहकार्य हाल ऊर्जा व्यापार, पूर्वाधार विकास र कनेक्टिभिटीमा उल्लेखनीय रूपमा विस्तार भइरहेको उल्लेख गर्दै ती क्षेत्रलाई आगामी सहकार्यको प्रमुख आधारका रूपमा प्रस्तुत गरेको छ ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “नेपाल र भारतबिच ऐतिहासिक, सांस्कृतिक र सभ्यतागत सम्बन्धका साथै बलियो जनस्तरीय सम्बन्ध रहेका छन् । व्यापार, विकास साझेदारी, ऊर्जा तथा जलस्रोत र कनेक्टिभिटीजस्ता क्षेत्रमा द्विपक्षीय सहकार्यले उल्लेखनीय प्रगति हासिल गरेको छ ।”
मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहको भ्रमणले नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै नेपालसँगको सम्बन्धलाई भारतले दिएको महत्वलाई समेत प्रतिबिम्बित गर्नेछ ।
भारतले भ्रमणबाट विशेषगरी ऊर्जा, व्यापार, लगानी तथा पूर्वाधार सहकार्यलाई थप गतिशील बनाउने अपेक्षा गरेको छ ।


प्रतिक्रिया दिनुहोस्