एनएमबी बैंकले १५ वर्ष अवधि भएको ऊर्जा ऋणपत्र जारी गर्ने


काठमाडौं। एनएमबी बैंकले १५ वर्ष अवधि भएको ऊर्जा ऋणपत्र जारी गर्ने भएको छ।

बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा उक्त ऊर्जा ऋणपत्र जारी गर्न लागेको हो। प्रति कित्ता एक हजार रुपैयाँ अं‌कित मूल्य रहेको ऋणपत्रमा न्युनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ।

डेढ अर्ब रुपैयाँको ऋणपत्रमध्ये ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता ऋणपत्र सर्वासाधारणको लागि छुट्याइएको छ।

सर्वसाधारणलाई छुट्याइएको ६ लाख कित्ताको ५ प्रतिशत अर्थात ३० हजार कित्ता ऋणपत्र सामूहिक लगानीकोषका लागि छुट्याइएको छ। बाँकी रहेको पाँच लाख ७० हजार कित्ता ऋणपत्रका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्।

जेठ १२ गते सम्म आवेदन दिन सकिने उक्त ऋणपत्र तोकिएको समयभित्र सबै डिबेन्चर बिक्री नभएमा ढिलोमा जेठ २३ गते सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ।