उखु किसानको भुक्तानी ढिलाइ गरे आन्दोलनमा उत्रने ६ किसान संगठनको चेतावनी


काठमाडौं । लामो समयसम्म भुक्तानी नपाएका उखु किसानको समर्थनमा ६ वटा किसान संगठनले संयुक्त वक्तव्य निकालेका छन् ।

संगठनहरुले उखु किसानले विक्री गरेको उखु वापत पाउनुपर्ने रकम तत्काल भुक्तानी नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

“यदि किसानहरूको रकम तत्काल भुक्तानी नगरिएमा हामी उखु किसानहरूको पक्षमा चिनी उद्योगी तथा व्यापारीहरू र सरकारको विरुद्धमा कडा संघर्षमा उत्रने र संघर्षको मैदानमा कुनै अप्रिय घटना घटेमा त्यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित चिनी उद्योगी, व्यापारी तथा सरकार हुने कुरा पनि यसै प्रेस वक्तव्यमार्फत स्पष्ट पार्न चाहन्छौँ,” आइतवार जारी विज्ञप्तिमा भनिएको छ ।

अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ , अखिल नेपाल किसान महासंघका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासंघ(अप्फा) का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान संघका इन्चार्ज कृष्ण रानाद्वारा संयुक्त विज्ञप्ति जारी गरिएको हो ।

विज्ञप्तिमा यसअघिको सरकारले प्रतिवद्धता जनाए पनि उखु किसानको समस्या समाधान नगरेकोमासमेत आपत्ति जनाइएको छ । वर्तमान सरकारले समस्या समाधानमा ढिलासुस्ती गरेमा आन्दोलन गर्ने चेतावनी विज्ञप्तिमा दिइएको छ ।